काठमाडौं- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ। निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनका लागि सर्वेक्षण कार्य सुरु गरिएको हो।
राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा क्षेत्र, त्यसैगरी लालझाडी र जोगबुढा क्षेत्रमा बाघ सर्वेक्षण कार्य सुरु भएको छ।
निकुञ्ज कार्यालयका अनुसार उक्त क्षेत्रलाई बाघ सर्वेक्षणका लागि दुई किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइ भएका २६० वडा ग्रिडहरुमा विभाजन गरिएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बाघको फोटो खिच्नका लागि स्वचालित क्यामरा प्रयोग गरिएको बताए। तीन सातामा बाघ गणना सम्पन्न हुनेछ। बाघ सर्वेक्षणका लागि कूल ५२० थान क्यामरा, ७० जना प्राविधिक र पाँचवटा हात्ती परिचालन गरिने निकुञ्ज कार्यालयले बताएको छ।
शुक्लाफाँटामा सन् २००९ देखि बाघ गणना हुँदै आएको छ। सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्याउने सरकारको लक्ष्यअनुरूप शुक्लाफाँटामासमेत बाघको संख्या दोब्बर गर्ने लक्ष्य राखिएको छ।
शनिबार उक्त कार्यक्रम शुभारम्भ गर्न कञ्चनपुर पुगेका वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले बाघ सर्वेक्षण कार्यक्रमले देशभर बाघको संख्या पत्ता लाग्ने बताए। संख्यापछि जैविक विविधतामा पर्ने असरलगायतमा महत्त्वपूर्ण कुरा सर्वेक्षणबाट थाहा हुने उनले जानकारी दिए।
निकुञ्जमा यसअघि गरिएको राष्ट्रिय सर्वेक्षणबाट १६ वटा बाघ भेटिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।