काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा शनिबार विभागीय टोली नेपाल पुलिस क्लबलाई सातदोबाटो युथ क्लबले पराजित गर्दा अर्को खेलमा तालिकाको शीर्ष स्थानमा रहेको मच्छिन्द्रले च्यासल युथ क्लबलाई हराएको छ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिसलाई १-० गोलले पराजित गरेको हो। सातदोबाटो युथ क्लबलाई जित दिलाउन आकाश बुढामगरले १९औं मिनेटमा गरेको गोल निर्णायक भएको हो। यससँगै सातदोबाटो बाटोले डेब्यू सिजनमै बलियो टोलीमध्येको पुलिसमाथि अर्को सफलता निकालेको हो। यसअघि सातदोबाटोले थ्रीस्टार र मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै जारी लिगमा सनसनी मच्चाएको थियो।
निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसका हेमन्त श्रेष्ठले पेनाल्टी क्षेत्रभित्र आकाशलाई फाउल गरेपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो। जसमा आकाशले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सोही गोल तीन अंकका लागि पर्याप्त बन्यो।
यस जितसँगै सातदोबाटोले १० खेलबाट १५ अंक जोडेको छ। सातदोबाटो पाँचौं स्थानमा उक्लिएको छ। पुलिसले १० खेलमा १० अंक जोडेको छ। पुलिस १०औं स्थानमा रहेको छ।
लिगअन्तर्गत दशरथ रंगशालामा नै भएको अर्को खेलमा शीर्षस्थानको मच्छिन्द्रले रेलिगेसन क्षेत्रको पुछारमा रहेको च्यासलमाथि २-० को जित निकाल्यो। राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्रको जितमा विमल घर्ती मगर र सुनिल बलले एक/एक गोल गरे। मच्छिन्द्रले पहिलो हाफमा गरेको गोल नै तालिकामा शीर्षता कायम राख्न सहयोग पुग्यो।
तुलनात्मक रुपमा कमजोर देखिएको च्यासलविरुद्ध मच्छिन्द्रले सुरुआतबाट नै दबाब दिएर खेलेको थियो। सोही क्रममा १७ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १-० गोलको अग्रता दिलाएका हुन्। रञ्जित धिमालको कर्नरमा विमलले उत्कृष्ट हेडर गोल गरेका हुन्।
त्यसको आठ मिनेटपछि सुनिल बलले गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए। विमलले उपलब्ध गराएको पासमा सुनिलले पेनाल्टी क्षेत्रबाट जाली चुमाएका थिए।
तर, दोस्रो हाफको खेलमा भने मच्छिन्द्रलाई झट्का लाग्यो। सुनिलको स्थानमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिष डाँगी विपक्षी च्यासलका यानिक केचासँग जुध्न पुग्दा मैदानमा लडेका थिए। उनलाई तत्काल मैदानमै सीपीआर दिइएको थियो। त्यसपछि थप उपचारका लागि मनिषलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको छ। अस्पताल प्रशासनले मनिष खतरामुक्त भएको विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
जितपछि शीर्षस्थानको मच्छिन्द्रको १० खेलबाट २६ अंक भएको छ। समान १० खेलमा ५ अंकको जोडेको च्यासल तालिकाको पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।