काठमाडौं- ओमानमा जारी चारदेशीय टी-२० श्रृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपाल पराजित भएको छ। शनिबार भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग २५ रनले पराजित भएको हो।
मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले नेपाललाई १९३ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६७ रनमा समेटियो।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए। उनले ३३ बलमा पाँच चौका प्रहार गरे। ओपनर आशिफ शेखले ३४ रन बनाए। उनले पहिलो विकेटका लागि ज्ञानेन्द्रसँग ५३ रनको साझेदारी गरेका थिए। ज्ञानेन्द्रले २२ रन बनाए। राम्रो सुरुआत गरे पनि नेपालले लय गुमाउँदा यूएईसँग हार बेहोर्नुपर्यो।
राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गर्दै लोकेश बमले ३३ रन बनाए। शरद भेषावकर १० रनमा अविजित रहे।
यसअघि यूएईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १९२ रन बनाएको थियो। नेपालका कप्तान सन्दीप लामिछाने, साहब आलम र आरिफ शेखले समान एक/एक विकेट लिए।
श्रृंखलाअन्तर्गत पहिलो खेलमा शुक्रबार नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो। अब नेपालले अन्तिम खेलमा सोमबार आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।