काठमाडौं- इण्डियन प्रिमियर लिग(आइपीएल) को १५ औं सिजनका लागि खेलाडीको लिलामी शनिबारबाट हुँदैछ। यस लिलामीपछि आईपीएलमा हिस्सा लिने टीमको स्वरूप बदलिने छ।
नेपालबाट लेग स्पिनर सन्दीप लामिछानेमात्र अक्सनमा परेका हुन्।
अक्सनमा लामिछानेले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) राखेका छन्। नेपालबाट अक्सनका लागि १५ खेलाडीले नाम दर्ता गराएका थिए तर लामिछानेमात्र परेका हुन् ।
विश्वभरबाट १ हजार २ सय १४ खेलाडीले आइपीएलमा खेल्नका लागि आवेदन दिएका थिए। सुरुवाती समीक्षापछि यसमध्ये ५९० खेलाडी अन्तिम नामावलीमा सहभागी हुनेछन्। जसमा ३७० जना भारतीय क्रिकेटर र २२० जना विदेशी खेलाडी रहने छन्।
यस सीजनको लिलामीमा अफगानिस्तानका १७, अस्ट्रेलियाका ४७, बंगलादेशका पाँच, इंग्ल्याण्डका पाँच, न्यूजील्याण्डका २४, दक्षिण अफ्रिकाका ३३, श्रीलंकाका २३, वेष्ट इन्डिजका ३४, नामीबियाका तीन तथा नेपाल, जिम्बाबे, अमेरिकाका र स्कटल्याण्डका एक/एक जना अक्सनमा सहभागी हुनेछन्।
२०२१ मा सन्दीपले ४० लाख भारु नै अक्सनमा राखे पनि बिकेका थिएनन्।
सन्दीपलाई २०१८ मा तत्कालीन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो। त्यस सिजनमा दिल्ली लिगबाट बाहिरिएपछि अन्तिम तीन खेल खेल्दै ५ विकेट लिएका थिए।
२०१९ मा दिल्लीले ६ खेलमा मौका दिँदा सन्दीपले ८ विकेट लिएका थिए। २०२० मा भने सन्दीपले मौका पाएनन्। २०२१ मा बिक्न सकेनन्।
१० टोलीले रिटेनमार्फत् ३३ खेलाडी टोलीमा अनुबन्ध गरिसकेका छन्। आईपीएल अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुनेछ। यस सिजनदेखि आईपीएलमा १० टोलीको सहभागिता रहनेछ।
एक टोलीले बढीमा २५ खेलाडी राख्न पाउने छन्। जसमा ८ विदेशी खेलाडी हुने छन्। १० विदेशी खेलाडी रिटेन भइसकेको अवस्थामा अब ७० विदेशी खेलाडी आईपीएल अक्सनमा बिक्ने छन्। १० टोली हुँदा सन्दीपको सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।