काठमाडौं- सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलअन्तर्गत आज तीन खेलहरु हुँदैछ।
लिगको दशौँ चरण अन्तर्गत हुने तीन मध्ये दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एक बजे मछिन्द्र फुटबल क्लब र च्यासल युथ क्लब आमनेसामने हुनेछन्।
मछिन्द्र ९ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। आज च्यासललाई पराजित गरेर शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउने दाउनमा मछिन्द्र रहेको छ। च्यासल ९ खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ। रेलिगेसनबाट बच्न च्यासललाई यस खेल महत्वपूर्ण रहेको छ।
दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। मनाङ र थ्री स्टारबीचको खेल पौने पाँच बजे हुनेछ।
मनाङ ९ खेलमा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। उपाधि होड कायम राख्न मनाङलाई थ्री स्टारमाथि जित हात पार्नुपर्ने दबाब छ। थ्री स्टार १६ अंक सहित चौंथो स्थानमा रहेको छ। थ्री स्टार पनि मनाङलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ।
यस्तै सातदोबाटोस्थित एन्फा कप्लेक्समा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। पुलिस र सातदोबाटोबीचको खेल १ बजे सुरु हुनेछ। पुलिस १० अंक जोडेर दशौँ स्थानमा रहेको छ । सातदोबाटो १२ अंक जोडेर सातौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।