सिमकोट- हुम्लाको सिमकोट गाउँपालिकाका एक जना पुरुष तीन दिनदेखि बेपत्ता भएका छन्। सिमकोट-७ घर भइ हाल वडा-३ को तोर्पा गाउँमा बसोबास गर्दै आएका ४५ वर्षीय तुलसिंह सुनार तीन दिनदेखि सम्पर्कविहीन भएका हुन्।
सुनार तोर्पा गाउँबाट सदरमुकाम सिमकोट बुधबार काम विशेषले आएको र सोही दिनदेखि हराएको परिवारले जनाएको छ। बुधबार घरबाट सिमकोट आएको भए पनि आफूले बिहीबारदेखि निरन्तर खोजी कार्य जारी राखेको तर फेला पार्न नसकिएको ज्वाइँ धनवीर सुनारले जानकारी दिए।
तीन दिनदेखि सम्पर्कविहीन भएका आफ्ना ससुरालाई खोजी गरिदिन आज शुक्रबार जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गरिएको उनले बताए। पुरानो घर डाडाफयाँ र साथै आफन्तको गाउँ ठेहे, सिमकोटलगायत गाउँमा बिहीबार र शुक्रबार निरन्तर खोजी गर्दा भेटाउन नसकिएको उनले बताए।
उनले केही वर्षयतादेखि डाडाफयाँ छोडर तोर्पा गाउँमा बसाइसराइ गरेका थिए। बुधबारको दिन हावाहुरीका साथै हिमपातसमेत भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।