काठमाडौं- नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले दूधको मूल्य लिटरमा १० रुपैयाँले बढाउने घोषणा गरेका छन्।
निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई संघले आज पत्रकार सम्मेलन गरी सरकारले निर्धारण गरेको दूधको मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यही फागुन १ गतेदेखि लागू हुने गरी दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको घोषणा गरेका हुन्।
त्यसैगरी किसानले पाउने मूल्य प्रतिलिटर ५३ रुपैयाँ ४५ पैसाबाट बढाएर ६२ रुपैयाँ कायम गरिएको छ। सो मूल्यको दूधमा चार प्रतिशत फ्याट र आठ प्रतिशत एसएनएफको गुणस्तर कायम हुनुपर्छ।
पहिला स्ट्यान्डर्ड प्रशोधन गरिएको दूधको प्रतिलिटर मूल्य ७६ रुपैयाँ थियो भने अब ५०० एमएलको एक प्याकेटको खुद्रा बिक्री मूल्य ४३ रुपैयाँ रहेको छ।
डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले दूधको मूल्यबारे पटक-पटक सरकार र सम्बन्धित निकायलाई सल्लाह र सुझाव दिँदासमेत बेवास्ता भएपछि आफूहरूले मूल्य घोषणा गर्न बाध्य भएको जानकारी दिए।
यसअघि दुग्ध विकास संस्थान (डीडीसी)ले बिहीबार पत्रकार सम्मेलन गरी दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाइएको जानकारी दिएको थियो।
गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।