काठमाडौं- दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य बढाएको छ। आज पत्रकार सम्मेलन गर्दै डीडीसीले प्रतिलिटर दूधको मूल्य नौ रुपैयाँ बढाइएको जानकारी दिएको हो।
यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ रहेकोमा शुक्रबार (भोलिदेखि) बढेको मूल्य लागू भएर प्रतिलिटर ८५ रुपैयाँ हुने भएको छ। डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको थियो।
बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीनथरी मूल्य निर्धारण गरेको छ। काठमाडौं उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५ रुपैयाँ, बुटवल भैरहवामा प्रतिलिटर ८१ रुपैयाँ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ रुपैयाँ मूल्य कायम हुनेछ।
यसअघि काठमाडौंमा ७६ रुपैयाँ, बुटवल भैरहवामा ७२ रुपैयाँ र नेपालगञ्ज क्षेत्रमा ७० रुपैयाँ कायम थियो। बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर दुई रुपैयाँ ४८ पैसा उद्योगीले पाउने छन्।
यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो। त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो। किसानका लागि तथा उपभोक्ताका लागि बढेको दूधको मूल्य शुक्रबारदेखि लागू हुने डीडीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।