बैतडी- नेपाल-भारत सीमानाका आजदेखि चार दिनका लागि बन्द भएका छन्। भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २) मा हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका सबै नाका चार दिनका लागि बन्द भएका हुन्।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज बिहानदेखि फागुन ३ गतेसम्मका लागि बन्द भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। दार्चुलाका भारतसँग सीमा जोडिएका सबै नाका पनि आजदेखि फागुन २ गतेसम्म बन्द भएका दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएका हुन्। सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।
गड्डाचौकी बन्द
भारतको उत्तराखण्ड राज्यको विधानसभाको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाल-भारत सीमानाका गड्डाचौकी आजदेखि बन्द गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आजदेखि फागुन २ गतेसम्मका सीमानाका बन्द गरिएको छ।
निर्वाचनका लागि भारत सरकारको अनुरोधमा सीमानाका बन्द गरिएको हो। भारतको उत्तराखण्ड राज्यमा विधानसभा निर्वाचनका लागि १४ फेब्रुअरीमा मतदान हुँदै छ।
चुनाव अवधिभर सीमानाका पूर्णरुपमा बन्द हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।