काठमाडौं- फ्रेन्ड्स क्लबले राजधानीमा जारी सहिद स्माक ए डिभिजन लिगमा पहिलो जित निकाल्दा दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल युथ क्लबसँग संघर्षपूर्ण बराबरी खेलेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा फ्रेन्ड्सले ब्रिगेड ब्वाइजविरुद्ध ५-२ को जित निकाल्दा दिनको दोस्रो खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले १-१ गोलको बराबरी खेलेका हुन्।
फ्रेन्ड्सले ब्रिगेड ब्वाइजलाई ५-२ गोल अन्तरले पराजित गर्दै जारी सिजनको सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको हो। हारबाट रेलिगगेसन क्षेत्र लगभग पक्का जस्तो भएको फ्रेन्ड्सले सुधारिएको खेल देखाउँदै पहिलोपटक स्पष्ट तीन अंक जोडेको हो। फ्रेन्ड्सको पहिलो जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई/दुई गोल गर्दा श्यामबाबु केप्छ्याकीको नाममा एक गोल रह्यो। फ्रेन्ड्सविरुद्ध अन्तर घटाउँदा ब्रिगेडका ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले एक/एक गोल फर्काए।
रेलिगेसन संकट टार्नका लागि गर या मरको अवस्थामा स्पष्ट अंकका लागि मैदान उत्रिएको दुवै टोलीले सुरुआतबाट नै आक्रामक खेल खेलेका थिए। सोही क्रममा १४औं मिनेटमा सुशीलले फ्रिकिकबाट फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए। ब्रिगेडका ड्याडी जुनियर वाम्बाले नाथनियल जुड ग्रासियालाई फउल गरेपछि फ्रेन्ड्सले फ्रि-किकको अवसर पाएको थियो। जसमा फ्रेन्ड्सका लागि डेब्यू खेलाडी सुशीलले उत्कृष्ट गोल गरे।
२५औं मिनेटमा ड्याडीले फ्रिकिकमार्फत् गोल गर्दै ब्रिगेडलाई १-१ गोलको बराबरीमा ल्याए। दुई मिनेटपछि नै फ्रेन्ड्सका श्याम बाबुले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को अग्रता दिलाए। काउन्टर बलमा विकास थापाले ब्रिगेडका गोलकिपर गुरप्रित सिंहलाई बिट गर्दै उपलब्ध गराएको बलमा श्यामले सहज गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समय जमउलले गोल गर्दै फ्रेन्ड्सलाई ३-१ को अग्रता दिलाए। ७६औं मिनेटमा जमउलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४-१ को अग्रता दिलाउँदा ७८औं मिनेटमा सुशीलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ५-१ को बलियो अवस्थामा लगेका थिए।
८६औं मिनेटमा ब्रिगेडका अनिलले पेनाल्टीमा गोल गर्दै अन्तर घटाए पनि फ्रेन्ड्स ५-२ ले विजयी भयो। फ्रेन्ड्सका प्रिजेनले रुडीलाई पेनाल्टी बक्सभित्र फउल गरेपछि ब्रिगेडले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई अनिलले सहजै गोलमा परिणत गरेका थिए। यससँगै अनिलले आठ वर्षपछि लिगमा पहिलो गोल गरेका छन्। पछिल्लोपटक अनिलले २०७० सालमा मनाङबाट खेल्दा थ्रीस्टारविरुद्ध गोल गरेका थिए।
जितसँगै फ्रेन्ड्स १० खेलमा ६ अंक जोडेर रेलिगेसन क्षेत्रमाथि उक्लिएको छ। तालिकाको पुछारमा रहेको फ्रेन्ड्सले स्पष्ट तीन अंक जोड्दा दुई स्थान छलाङ मार्दै १२औं स्थानमा उक्लिएको हो। उता पराजित ब्रिगेड १० खेलमा ६ अंक जोडेर १३औं स्थानमा झरेको छ। पुछारमा च्यासल झरेको छ। खेलमा फ्रेन्ड्सका सुशील 'प्लेयर अफ दि म्याच' चुनिए भने इमर्जिङ प्लेयरको उपाधि फ्रेन्ड्सका आकाश थापाले थापे।
दिनको दोस्रो खेलमा इन्जुरी समयमा सम्हालिन नसक्दा जावालाखेल युथ क्लबले आर्मीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। जावलाखेल युथ क्लबका ओनगुनाले ५३औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो। जावलाखेलले इन्जुरी समयको अन्तिम मिनेट सम्हालिएको प्रदर्शन गर्न नसक्दा दुई अंक गुमाउन पुगेको हो। इन्जुरी समयमा आर्मीका सुमन अर्यालले गोल गर्दै खेल बराबरी ल्याएका थिए। यसअघि पहिलो हाफमा दुवै टोलीले गोलका लागि राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेका थिए। दोस्रो हाफमा पछि परेपछि आर्मीले खेलमा फर्किनलाई धेरै पटक आक्रमण गरे पनि गोल गर्न भने असफल भएको थियो।
जितसँगै जावलाखेल युथ क्लबले १० खेलबाट ९ अंक भएको छ। जावलाखेल युथ क्लब ११औं स्थानमा यथावत् रह्यो। उता संघर्षपूर्ण बराबरी खेलेको आर्मी पनि १० खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा यथावत् नै छ। दुई अंक गुमाएको आर्मीले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ।
लिगमा शनिबार तीन खेल हुँदै छन्। दशरथ रंगशालामा हुने पहिलो खेल मच्छिन्द्र फुटबल क्लब र च्यासल युथ क्लब तथा दिनको दोस्रो खेल मनाङ मर्स्याङ्दी फुटबल क्लब र थ्रीस्टार क्लबबीच दशरथ रंगशालामा नै हुने छन्। यस्तै ललितपुरस्थित एन्फा कप्लेक्समा विभागीय टोली नेपाल पुलिस क्लबले सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।