काठमाडौं- तेस्रो लहरमा नेपालमा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको कोरोना संक्रमितको संख्या पछिल्ला दिनमा घट्दो क्रममा छ। तर, संक्रमण घट्दो भए पनि कोरोनाबाट भइरहेको मृत्यु भने घट्न सकेको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शुक्रबार १ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो ओमिक्रोन भेरियन्ट फैलिएपछि हालसम्मकै कम संक्रमित संख्या हो। शुक्रबार २० हजार ९८९ नमूना परीक्षण गर्दा पुष्टि भएको संक्रमितको यो संख्या ५ दशमलब ३७ प्रतिशत हो। यो पनि ओमिक्रोन भेरियन्ट फैलिएपछिको सबभन्दा कम संक्रमणदर हो।
बिहीबार १ हजार ३६९ जना संक्रमित भेटिएका थिए। र, संक्रमणदर ११ दशमलव ५२ प्रतिशत थियो।
कोरोना संक्रमणदर घट्दै जाँदा मृत्युको संख्या भने बढ्दो छ। कुनै बेला शून्यमा झरेको मृत्युको संख्या हाल दैनिक १० जनाभन्दा माथि छ। माघको दोस्रो साताबाट संक्रमणदर घटिरहँदा मृत्युको संख्या भने घट्न सकेको छैन।
पुसमा दैनिक मृत्यु हुनेको संख्या पाँचभन्दा तल थियो। पुस महिनामा मात्र ४८ जना संक्रमितको मृत्यु भएको थियो। माघको २८ गतेसम्म मात्र २६५ जना संक्रमितको मृत्यु भइसकेको छ।
संक्रमणदर दैनिक घटे पनि मृत्युदर भने घट्न नसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले पनि पुष्टि गर्छ।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८७९ पुगेको छ। संक्रमित हुने उमेर समूह सबैभन्दा धेरै २१ देखि ३० वर्ष भए पनि मृत्यु संख्यामा भने ५० वर्ष माथि उमेर समूहका बढी छन्।
कूल मृत्युमध्ये सबैभन्दा धेरै ६० देखि ६९ वर्ष उमेर समूहका छन्। दोस्रोमा ७० देखि ७९, तेस्रोमा ५० देखि ५९, चौथोमा ४० देखि ४९ र पाँचौं नम्बरमा ८० वर्ष माथिका छन्।
संक्रमण घटिरहँदा मृत्यु किन घटेन?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेल संक्रमण उच्च भएको बेला मृत्यु नबढ्ने बताउँछन्। त्यसको एक-दुई सातापछि मात्र अस्पताल भर्ना हुनेको संख्या बढ्ने, त्यही कारण तुलनात्मक रुपमा अहिलेको मृत्युको संख्या बढी देखिएको र यो विस्तारै कम हुँदै जाने उनले बताए।
डा पौडेलको भनाइप्रति सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन पनि सहमत छन्। संक्रमणको बिन्दु उच्चमा पुगेको केही सातापछि मात्र मृत्युको संख्या पनि बढ्ने गरेको उनले बताए।
संक्रमण फैलावट र नियन्त्रणको अवस्थालाई पार गरे पनि अहिले उपचारात्मक अवस्थामा रहेको उनको भनाइ छ। अर्थात् संक्रमित भएर जोखिममा रहेका व्यक्तिहरु अस्पतालमा उपचार गरिरहेका छन्।
कोरोना संक्रमणदर कम हुँदै गए पनि जोखिम भने कम भइनसकेको डा पुन बताउँछन्। ज्येष्ठ नागरिक र दीर्घरोगीहरु अझै पनि कोरोनाको उच्च जोखिममा रहेकाले विशेष सावधानी अपनाउन उनले आग्रह गरे। भने, ‘ज्येष्ठ नागरिकहरुमा रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ। धेरैमा त दीर्घरोग पनि हुन्छ। त्यसैले उहाँहरु कोरोनाको उच्च जोखिममा हुनुहुन्छ।’
युवा उमेरका व्यक्ति संक्रमित भए पनि जोखिममा रहेका वर्गहरु संक्रमण भए अस्पताल भर्ना गर्नुपर्ने सम्भावना धेरै हुने उनले बताए। परिवारमा कोही ज्येष्ठ नागरिक भए उनीहरुको विशेष हेरचाह गर्न डा पुनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।