काठमाडौं– बोल्न नसक्ने एक व्यक्तिको हत्या आरोपमा आफूलाई अघोरी बताउने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका–६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी) छन्।
नामथर तथा ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको हत्या आरोपमा अघोरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।
बिहीबार अघोरीले सोही ठाउँ बस्दै आएका ४० वर्ष जतिका पुरुषलाई दाउराको चिर्पट तथा बाँसको भाटाले टाउकामा हानी गम्भीर घाइते बनाएका थिए। उक्त सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले अघोरीलाई पक्राउ गरेको थियो भने घाइतेलाइ मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङमा उपचारका लागि पठाएको थियो।
मनमोहनबाट रेफर भई वीर अस्पतालमा उपचार गरिएकोमा शुक्रबार बिहान उनको मृत्यु भएको एसपी मैनालीले बताए।
पक्राउ परेका अघोरीमाथि महानगरीय प्रहरी बृत्त कीर्तिपुरबाट कर्तव्य ज्यानको कसूरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।