काठमाडौं– राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का कर्मचारी नै लुटपाटमा संलग्न भएको खुलेको छ । लुटपाट गरेको आरोपमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान घर भएका २७ वर्षीय सुजन मिश्र पक्राउ परेका छन्।
उनको साथबाट अनुसन्धान विभागको सहायक सूचकको परिचयपत्र समेत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।
उनले प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गरेको आरोप लागेको छ। काठमाडौं महानगरपालिका–६ कुशल ब्याङ्केट अगाडि दुई जना चिया खाई रहेको अवस्थामा उनले आफू प्रहरीको भएको बताउँदै लागुऔषधमा फसाईदिने भन्दै उनीहरुको साथमा रहेको ६० हजार र २ थान मोबाइल लुटपाट गरेका थिए।
उक्त खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले मिश्रलाई पक्राउ गरेको हो। प्रहरीले सुजनको साथबाट नगद १० हजार रुपैयाँ, २ थान मोबाइल र सुजन मिश्रको नामको राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको परिचय पत्र १ थान समेत बरामद गरेको छ।
उनीमाथि चोरी तथा डाँकासम्बन्धी कसूरअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।