एजेन्सी– इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सहज जित निकालेको छ। स्टार फरवार्डद्वय साडियो माने र मोहम्मद सलाहको अनुपस्थितिमा पोर्चुगिज फरवार्ड डिएगो जोटाले दुई गोल गरेपछि लिभरपुलले लेस्टर सिटीलाई २–० ले पराजित गरेको हो।
एनफिल्डमा बिहीबार राति सम्पन्न खेलमा जोटाले पहिलो र दोस्रो हाफमै गोल गरेका थिए। खेलको ३४औं मिनेटमा जोटाको गोल गर्दै लिभरपुललाई पहिलो हाफमा १–० को अग्रता दिलाए। त्यसपछि निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा जोटाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै लिभरपुललाई सहज जित दिलाए।
उनले जोइल मटिपको पासलाई सदुपयोग गरेका थिए। माने र सलाह अफ्रिका कप अफ नेसन्सका कारण टोलीमा रहेका छैनन्। उनीहरु अर्काे खेलबाट टोलीमा जोडिनेछन्।
जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी ९ मा छोट्याएको छ। दोस्रो स्थानमा रहेको लिभरपुलको २३ खेलबाट ५१ अंक पुगेको छ। एक खेल बढी खेलेको सिटीको ६० अंक छ। पराजित लेस्टर सिटी २६ अंक जोडेर १२औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।