प्रतीकात्मक तस्बिर
काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाइन स्थित एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। शुक्रबार बिहान २ बजेतिर आगलागी हुँदा पाँच जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।
आगलागी परी मृत्यु हुनेमा १० बर्षीय एक बालक, १५/१५ बर्षीय दुई बालक र एक बालिका तथा करिब ५५ बर्षीय एक पुरुष रहेको उनले जानकारी दिए। मृतकको सनाखत हुन भने बाँकी रहेको उनको भनाइ छ।
आगो केही नियन्त्रणमा आएपछि बिहान साढे ७ बजेतिर शब निकालिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। पाँचै जनाको निसास्सिएर मृत्यु भएको प्रहरीले बताएको छ। तेस्रो तलामा रहेकाहरु निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।
इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको थियो। विद्युतको मिटर पड्किदा आगलागी भएको प्रहरीले बताएको छ। बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ। घरको पहिलो तलाबाट आगलागी सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।