फाइल तस्बिर
काठमाडौं– चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज शुक्रबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो। सिरिजमा नेपाल र ओमानसँगै युएई र आयरल्यन्ड सहभागी छन्।
अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ।नेपालले ओमानसँग टी–ट्वान्टीमा पछिल्लो पटक २०१९ मा खेलेको थियो। जसमा नेपाल ६ विकेटले पराजित भएको थियो।सिरिज अन्तर्गत नेपालले दोसो खेलमा युएईसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ।
ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्। समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्।
नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ। नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ। नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ। नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।
समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ। फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ।
फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।