काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा हुस्सु लागेको महाशाखाको भनाइ छ।
आज (शुक्रबार) दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहनेछ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षासँगै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ। अन्यत्र भने सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।
आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।
प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावनासमेत रहेको छ।
हालैको वर्षा तथा हिमपातका कारण देशभर चिसो कायमै रहेको महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।