काठमाडौं– मामा भनेर ३ वर्षका नाबालकको कानमा लगाइएको सुनको मुन्द्रा लुट्ने र लुटेको मुन्द्रा किन्ने २ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सुनको मुद्रा लुट्ने काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण घर भएका ३८ वर्षीय नारायण श्रेष्ठ र सुन किन्ने मोरङको पथरी शनिश्चरे नगरपालिका–८ घर भइका काठमाडौंको गोकर्णेश्वर–६ मा न्यू लक्की सुनचाँदी नामक गहना पसल चलाउँदै आएका ३० वर्षीय राज कुमार बराइली छन्।
काठमाडौं महानगरपालिका–६ को पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाले आफ्नो ३ वर्षीय छोराको कानमा लगाइएको मुद्रा लुटिएको उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
अनुसन्धानका क्रममा नारायण श्रेष्ठले गत माघ ८ गते काठमाडौंको बौद्धबाट एक ३ वर्षीय बालकलाई मामा हुँ भन्दै चकलेट दिएर, फकाइ फुल्याइ समता स्कूल पछाडि लगेर बालकको कानमा लगाएको २/२ आना गरी ४ आना सुनको मुद्रा लुटेको खुलेको थियो।
प्रहरीले श्रेष्ठलाई पक्राउ गरी सोधपुछ गर्दा उनले उक्त मुद्रा न्यू लक्की सुन चाँदी पसलमा लगेर बिक्री गरेको बयान दिएका थिए। श्रेष्ठको बयानपछि प्रहरीले लुटिएको सुनसहित गहना पसलका सञ्चालक बराइलीलाई पक्राउ गरेको हो।
पक्राउ परेका २ जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-२० अन्तर्गत चोरी तथा डाँका सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।