फाइल तस्बिर।
काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेल शुक्रबारदेखि हुने भएका छन्। दिनको पहिलो खेलमा लिगको पुछारमा रहेको फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ।
दुवै टोली मैदान उत्रिँदा दुवैलाई रेलिगेशनबाट बच्नका लागि प्रतिस्पर्धा गर्नु पर्नेछ। बिहीबार खेल अघिको पत्रकार सम्मेलनमा दुवै टोलीले जितका लागि खेल्ने बताएका छन्। तालिकाको पुछारमा रहेको टोली फ्रेन्ड्सका प्रशिक्षक म्रिगिन्द्र मिश्रले कोरोनालाई भ्याक्सिन आवश्यक भए जस्तै आफ्नो टोली रेलिगेशनबाट बच्न तीन अंक आवश्यक भएको बताए।
यस्तै, रेलिगेशन क्षेत्रको दोस्रो स्थानमा रहेको ब्रिगेड ब्वाईज पनि फ्रेन्ड्सविरुद्ध मैदान उत्रिँदा तीन अंकका लागि नै प्रतिस्पर्धा गर्नेछ। किनभने ब्रिगेडलाई पनि रेलिगेशन क्षेत्र टार्न निकै संघर्ष गर्नु परेको छ। सोही कारण ब्रिगेड ब्वाइजका प्रशिक्षक समिर विष्टले फ्रेन्ड्सविरुद्ध गर या मरको खेल भएकाले जित बाहेकको विकल्प नभएको बताए।
दशौं चरण अन्तगर्तको खेलमा थ्री स्टारले बलियो मनाङ मर्स्याङ्दीविरुद्ध खेल्दै छ। अघिल्ला खेलमा अनपेक्षित नतिजा निकालेको थ्री स्टारलाई पुरानो शाख जोगाउने लक्ष्यका साथ मैदान उत्रिँदै छ।
चिर परिचित प्रतिद्वन्द्वीविरुद्ध मैदान उत्रिन थ्री स्टार तयार भएको प्रशिक्षक उर्जन श्रेष्ठले बताए। उनले अघिल्ला संस्करणमा मनाङलाई हराउँदै इतिहास बनाएकोले तीन अंक खोस्नका लागि खेल्ने उनले बताए।
दशौँ चरणको लिग अन्तर्गत शीर्ष स्थानको मच्छिन्द्रले च्यासल युथ क्लबसँग खेल्दै छ। मच्छिन्द्रका प्रशिक्षकले च्यासलसँगको खेलमा जित निकाले दोस्रो स्थानको टोलीसँग अग्रता तीन अंक भन्दा बढी मिल्दा उपाधि होडलाई सहज हुने भन्दै तीन अंकका लागि खेल्ने बताए। लिगमा नवौँ चरणको खेल सकिँदासम्म मच्छिन्द्र २३ अंकका साथ तालिकाको पहिलो स्थानमा रहँदा १९ अंक जोडेर मनाङ दोस्रो स्थानमा छ।
मनाङभन्दा दुई अंकले पछि रहेको त्रिभुवन आर्मी फुटबल क्लब पनि शीर्ष तीनभित्र अटाउने रणनीतिका साथ आउँदा खेलमा प्रतिस्पर्धा गर्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।