काठमाडौं– सार्वजनिक पोखरी ठेक्कामा लिएर भाडा बापतको रकम नबुझाउने वडाध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शम्भु प्रसाद यादवविरुद्ध ३५ लाख २१ हजार रुपैयाँ बिगो कायम गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार तत्कालीन सहोडवा गाउँविकास समितिको वडा नम्बर ६ मा (हाल पिपरा गाउँपालिका–५)मा पर्ने सुब्बा पोखरी यादवले भाडामा लिएका थिए। तत्कालीन गाविस कार्यालयले उनको नाममा २०७१ भदौ १ गतेदेखि २०७६ भदौ मसान्त सम्मका लागि ठेक्कामा दिएको थियो।
यादवले २०७६ असार मसान्तसम्म ५४ लाख ६४ हजार रुपैयाँ भाडा बुझाउने गरी पोखरी ठेक्कामा लिएका थिए। तर, उनले २०७३ माघ ४ गतेसम्मको भाडा बापतको रकम भनेर १९ लाख ४२ हजार ८०१ रुपैयाँ मात्रै बुझाएको पाइएको अख्तियारले जानकारी दिएको छ।
त्यसपछि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका यादवले आफ्नो पदको प्रभाव पारेर ठेक्काबापतको ३५ लाख २१ हजार २०४ रुपैयाँ रकम नबुझाएको पाइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
अख्तियारले वडाध्यक्ष यादवविरुद्ध ३५ लाख २१ हजार २०४ रुपैयाँ बिगो कायम गर्दै बिगो असुली तथा अधिकत्तम ६ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।