काठमाडौं– हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त प्रणालीका कारण हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ। अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका भूभागमा हुस्सु लागेको महाशाखाको भनाइ छ।
आज (बुधबार) दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी, बागमती तथा प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ।
आज राति देशका अधिकांश पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बागमती तथा प्रदेश १ का पहाडी भू–भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ। पुनः वर्षा तथा हिमपात हुने भएकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।