काठमाडौं– जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ठगी आरोपका फरार अभियुक्त पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठान जिल्ला तोरवाङ गाउँपालिका ६ का ईश्वरीप्रसाद पोख्रेल रहेको प्रहरीले जनाएको छ। बाग्मती प्रदेश ०१–०२६ च ४००१ नम्बरको कार चेक जाँच गर्ने क्रममा वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्की जानकारी दिए।
पोख्रेलमाथि विभिन्न ठाउँमा ठगी गरेको आरोप छ। प्रहरीका अनुसार उनले २०६९ पुसमा साइन रेसुङ्गा बैंक केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई ७ लाख रुपैयाँ ठगी गरेका थिए। २०५७ सालदेखि पोख्रेलमाथि ठगी गरेका दर्जनौं आरोप लागेका छन्। उनीमाथि चार वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीले बताए।
प्रहरीका अनुसार उनी ०६४/६५ सालमा दाङको राप्ती गाउँपालिका २ मा साइन्स कलेज स्थापना गर्ने र जागिर लगाइदिने नाममा १ करोड बढी रकम उठाएर फरार भएका थिए। यसैगरी कैलालीको धनगढीमा मेडिकल कलेज खोल्ने नाममा स्थानीय व्यवसायी र सर्वसाधारणसँग लाखौँ रकम उठाएर फरार थिए।
यसैगरी विभिन्न व्यवसायी र उद्योगबाट सामान खरिद गरेर नक्कली चेक काटेर १ करोड ७४ लाख बढीको माल समान किनेर फरार भएको आरोपसमेत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।