काठमाडौं– हवाईमार्गबाट गोसाइँकुण्ड जाने तीर्थयात्रु हिउँहुरीका कारण प्रभावित भएका छन्। हेलिकोप्टरबाट गोसाइँकुण्ड जाने तीर्थयात्रीको बुकिङअनुसार कार्यतालिका बनाइए पनि उड्ने समयमा प्रायःजसो अत्यधिक मात्रामा हिउँहुरी चल्न थालेपछि निर्धारण गरिएका उडान पटक–पटक स्थगन गर्नुपरेको हेलिकोप्टर कम्पनीहरूले जनाएका छन्।
एयरपोर्टबाट करिब २६ मिनेटमा पुग्न सकिने नजिक रहेको तीर्थ गोसाइँकुण्ड भए पनि उडानको समयमा हिमहुरी, सेतो हुस्सुले समस्या बनाउने गरेकाले मौसमको प्रकृति हेरी उडान भर्दै आएको जनाइएको छ। सिम्रिक, हेलिअल्टिच्युड, कैलाश, डानेष्टिक, माउण्टेनसमेतका हेलिकोप्टर कम्पनीले आइतबारका दिन तय गरेको धार्मिक उडानसमेत हिमहुरी चलेका कारण स्थगन गर्नुपरेको सम्बन्धित कम्पनीले जनाएका छन्।
दुई दिनअघि परेको हिमपातले गोसाइँकुण्ड ताल पूरै बरफ भएको छ। डाँडापाखा पूरै सेताम्मे बनाएको र उच्च भागको सतहमा तीनदेखि पाँच फिटसम्म हिउँ जमेको स्थानीय बासिन्दाले बताएका छन् । अत्यधिक हिमपातका कारण गोसाइँकुण्डमा रहेका चारवटा होटलसमेत बन्द गर्नुपरेको होटल व्यवसायी कामीसितार तामाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।