फाइल तस्बिर
काठमाडौं– आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) ओमान प्रस्थान गर्दैछ।
विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली मंगलबार राति ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
ग्लोबल छनोटमा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्। छनोटका खेल फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछ।
छनोट चरणको समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन्। समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्।नेपालले छनोट चरणको पहिलो खेल ओमानविरुद्ध खेल्दै छ।
नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ। नेपालको दोस्रो खेल फेब्रुअरी १९ मा फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा हुनेछ।
नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।
समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ।
फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ। छनोटको फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन्।
छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने क्यानले जनाएको छ। सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन्। यस सिरिजलाई विश्वकप छनोटको अभ्यास खेलको रुपमा लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।