आइतबार बालुवाटारमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर : प्रधानमन्त्री देउवाको सचिवालय।
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सात महिनापछि प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीसँगको सम्झौता तथा स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न बोलाएपछि उनी आइतबार बालुवाटार पुगेका हुन्।
अपराह्न ४ बजेका लागि बोलाइएको छलफल केही बेरअघि सुरु भएको छ। छलफलमा प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेल सहभागी छन्।
गत असारमा सरकारबाट बाहिरिएपछि एमाले अध्यक्ष ओली बालुवाटार गएका थिएनन्। उनीद्वारा गरिएको दोस्रो पटकको प्रतिनिधि सभाको विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले असार २८ गते फैसला सुनाएको थियो। जसमा असार २९ गते शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश पनि दिएको थियो। असार २९ गते ओलीले देशबासीको नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए।
असार ३० गते 'युथ फोर्स'ले स्कटिङ गरेर ओलीलाई विशेष तामझाम गरी बालुवाटारबाट बालकोट पुर्याएको थियो। त्यसका लागि असार २९ मा ‘युथ फोर्स’लाई ब्युँताइएको थियो।
'बालुवाटार-बालकोट मार्च'मा युथफोर्सका कार्यकर्ताहरुले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा लगायतका विरुद्ध अभद्र नाराबाजी गरेका थिए।
बालकोटस्थित आफ्नो निवास पुगेर ओलीले माधव नेपालविरुद्ध चर्को अभिव्यक्ति दिएका थिए। पार्टीभित्र खोजी भइरहेको एकताको सम्भावनालाई खारेज गर्दै उनले भनेक थिए- माधव नेपाललाई कुनै पनि हालतमा स्वीकार गरिन्न।
त्यसपछि ओलीलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्याइएको भन्ने भाषा प्रयोग हुन थालेको थियो।
भदौमा एमाले विभाजनपछि एमाले नवगठित नेकपा एकीकृत समाजवादीप्रति आक्रामक छ। उसको अस्वित्वलाई नै अस्वीकार गरेको एमालेले सो पार्टी उपस्थित हुने ठाउँमा अनुपस्थित हुँदै आएको छ।
भदौदेखि एमालेले गरिरहेको संसद् अवरोधको निकास खोज्न प्रधानमन्त्री देउवाले बालुवाटारमा आयोजना गरेको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन। त्यसैले प्रधानमन्त्रीबाट हटेपछि पनि पूर्वप्रधानमन्त्रीहरु बालुवाटार गइराख्ने प्रचलनमा अवरोध आएको थियो।
आइतबारको छलफलमा भने एकीकृत समाजवादीको कसैलाई बोलाइएको छैन। ओलीलाई उपस्थित गराउन नै एकीकृत समाजवादीका प्रतिनिधिहरुलाई नबोलाइएको आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।