काठमाडौं- एमाले कार्यकर्ताको ठूलो दलबलसहित निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निवास बालकोट पुगेका छन्। बुधबार कार्यकर्ताको मोटरसाइकल र गाडीको ताँतीसहित उनी प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका थिए।
ओली समर्थित भिडले उनको प्रशंसामा नारावाजी गरेका छन्। ‘केपी ओली जिन्दावाद’, ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ लगायतका नारा उनीहरुले लगाएका छन्। समर्थकले ओलीको फोटोसहितका प्रचार सामग्री पनि बोकेका छन्।
कार्यकर्ताको भिडले ओलीको प्रशंसामा जति नारावाजी गरेका थिए, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालप्रति भने उति नै तीव्र आक्रोश व्यक्त गरेका छन्। ओलीको बालकोट निवासमा पुग्नै लाग्दा कार्यकर्ताले ‘माकुने मुर्दावाद’, ‘माकुने गद्दार मुर्दावाद’, ‘माकुनेलाई फाँसे दे’ लगायका नारा लगाएका हुन्।
उनीहरुको आक्रोशको तारोमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पनि परेको देखिन्छ। उनीहरुले राणाप्रति अभद्र गाली गर्दै देश छोडेर जान भनेका छन्। त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पनि फाँसी दिन माग गरेका छन्।
दोस्रोपटक गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी भएपछि ओलीको यसपटकको सत्तायात्रा टुंगिएको हो। ओलीले मंगलबार नै देशबासीका नाममा सम्बोधन गरेर राजीनामा घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।