फाइल तस्बिर
सोलुखुम्बु– भारी हिमपातका कारण सिद्धिचरण राजमार्ग अवरुद्ध बनेको छ। गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीन दिनदेखि राजमार्ग बन्द भएको हो। सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी आवागमन ठप्प बनेको छ।
सडकमार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जमेकाले शुक्रबार बिहानदेखि सवारी आवागमन पूर्णरुपले बन्द भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक कृष्ण कटुवालले जानकारी दिए।
यातायात व्यवसायी दोर्जी शेर्पाका अनुसार पत्ताले क्षेत्रका सडकमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको छ। सडक खुलाउन सडक डिभिजन कार्यालय ओखलढुंगाले जेसिबीको प्रयोग गरे पनि सम्भव नभएको जनाइएको छ।
स्थानीयवासी ङिमा ग्लाल्जेन शेर्पाका अनुसार जेसिबीले सडकको हिउँ सोरेर सडक खुलाउने कोसिस गरे पनि शनिबारसम्म हिमपात नरोकिएकाले समस्या भएको हो।
यसका कारण बाहिरी जिल्लाबाट सोलुखुम्बुका लागि छुटेको सावरीसाधन ओखलढुङ्गाको ठाढे, टोड्के, विपलाटेलगायत स्थानमा तीन दिनदेखि रोकिएका छन् भने सोलुखुम्बुबाट छुटेका केही सवारी सोलुदूधकुण्ड नगरपालिका–११ बेलिडाँडामा रोकिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।