काठमाडौं– तेस्रो डिभिजनको क्लब प्लिमाउथ आर्गाइलमाथि अतिरिक्त समयमा जित निकाल्दै चेल्सी एफए कपको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ।
घरेलु मैदानमा १–० ले पछि परेको चेल्सी अतिरिक्त समयमा २–१ को जित निकाल्दै अन्तिम १६ मा पुगेको हो। चेल्सीको जितमा कप्तान सिजर एज्पिलिक्वेटा र सव्सिच्युट मिडफिल्डर मार्काेस अलन्सोले गोल गरे। प्लिमाउथका मकाउले गेलेस्फीले गोल गरेका थिए।
स्टामफोर्ड ब्रिजमा शनिबार राति सम्पन्न खेलको आठौं मिनेटमा मकाउले गेलेस्फीको गोल गेका थिए। उनले जोर्डन होउथनको पासमा गोल गर्न सफल भएका थिए। खेलको ४१औं मिनेटमा कप्तान सिजर एज्पिलिक्वेटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। उनले मासन माउन्टको पासमा ब्याक फ्लिकमा गोल गर्न सफल भएका थिए।
त्यसपछि निर्धारित समयमा कुनै गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्विएको थियो। अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेट (१०७) मा मार्काेस अलन्सोले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए।
अतिरिक्त समयको ९७औं मिनेटमा सउल निग्वेजको स्थानमा मैदान छिरेका अलन्सोले अर्काे सब्सिच्युट फरवार्ड काई हाभर्टजको पासलाई सदुपयोग गरेका थिए। खेलको ११७औं मिनेटमा रायन हार्डी पेनाल्टीमा चुक्दा प्लिमाउथ पराजित हुन पुग्यो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।