काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएकी छन्।
वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भन्ने कामनासमेत गरेकी छन्।
विद्या, वुद्धि, कला र सङ्गीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले सर्वसुलभ, गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट प्रतिस्पर्धी जनशक्ति विकास गर्ने, शिक्षामा लगानी अनुसारको प्रतिफल निकाल्ने र नवप्रवर्तनका लागि युवा पुस्तासँग राज्यले हातेमालो गरेर अघि बढ्नुपर्ने ठूलो चुनौती रहेको उल्लेख गरेकी छन्।
वर्तमान सन्दर्भमा प्रारम्भिक बाल विकास तहदेखि, विद्यालय हुँदै विश्वविद्यालयसम्म नै शिक्षाको सामयिक सुधारका सवालहरू साझा राष्ट्रिय चासोका विषय हुन पुगेको उनको भनाइ छ।
वसन्त पञ्चमीले एकातिर ज्ञानमा अन्तर्निहित शक्तिको पहिचान गरी त्यसलाई उत्सवमय बनाउने तथा मानवजातिलाई असल र खराब छुट्याई असल मात्रलाई ग्रहण गर्ने आन्तरिक प्रकाशको खोजी गर्न निरन्तर उत्प्रेरित गर्ने उनको सन्देशमा उल्लेख छ।
नेपालका धेरै सांस्कृतिक पर्व र परम्परा जस्तै वसन्त पञ्चमी पनि प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका, जाडोयाम सकिएर वसन्त ऋतुको आगमन हुँदा प्रकृतिले नवीनता पाउने तथा स्रस्टाहरू वसन्त ऋतुलाई सिर्जनाको प्रतीक मान्दछन् भन्दै राष्ट्रपतिले सन्देशमा किसानका निम्ति वसन्त पञ्चमी नयाँ बाली लगाउन प्रकृतिले दिएको अवसरका रूपमा लिने गएिको सन्देशमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।