खलंगा- जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा गत बिहीबार रातिदेखि भएको भारी हिमपातले जनजीवन प्रभावित बनेको छ। हिमपातले जुम्लाको राष्ट्रिय प्रसारणलाइनको विद्युत् सेवा अवररुद्ध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन्। हिमपातले विद्युत् प्रसारणलाइन अवरुद्ध भएको छ।
हिमपातले ठाउँठाउँमा पोल र तारमा क्षति पुगेपछि विद्युत् अवरुद्ध हुँदा जुम्लावासी अन्धकारमा बस्ने बाध्य भएको स्थानीयवासी कर्ण बुढाले बताए। विद्युत् प्रसारणलाइन पुगेपछि बिजुली बाल्ने ग्राहक पछिल्लो समय थपिएका छन्।
विद्युत् अवरुद्ध भएपछि खलंगाका झन्डै तीन हजार ५०० ग्राहक प्रभावित भएका छन्। नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार लगातारको हिमपातले विद्युतका खम्बा र तारमा क्षति पुगेको हुँदा विद्युत् सेवा अवरुद्ध भएको छ।
मौसम सफा भएपछि कुन ठाउँमा विद्युत् क्षति पुगेको छ सोही ठाउँमा कर्मचारी खटाएर विद्युत् सञ्चालन गर्न लागिपरेको कार्यालय प्रमुख रावलले बताए। हिमपातका कारण जुम्ला जिल्ला पूरै हिउँले सेताम्य भएको छ। हिउँले विद्यालयको पठनपाठन रोकिएको छ। हवाई तथा सडक यातायात पूर्णरुपमा ठप्प हुँदा यात्रुलाई सास्ती भएको छ।
कर्णाली राजमार्गमा जमेको हिउँ पन्छाउन थालियो
कर्णाली राजमार्गमा जमेको हिउँ डोजर लगाएर पन्छाउन थालिएको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको टोलीले डोजर लिएर हिउँ पन्छाउन थालेको छ।
कर्णाली राजमार्गको जुम्ला खण्डको सडकमा झण्डै एक फिट हिउँ जमेको छ। हिउँमा सवारी चलाउँदा चिप्लिने डरले गर्दा सवारीसाधन चल्न सकेका छैनन्।
आजदेखि मौसम सफा भएपछि काम गर्न सहज भएको सहायक प्रजिअ प्रमिला रिजालले बताइन्। सडक खुलाउनका लागि सदरमुकाम खलंगाबाट दुई वटा डोजर प्रयोग भएका छन्।
सडक डिभिजनलाई सडक खुलाएर सञ्चालन गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताए। हिमपातका कारण कर्णालीको सडकमार्ग खुलेको छैन। भारी हिमपातका कारण जुम्लाको हवाई सेवा प्रभावित बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।