काठमाडौं- विगत केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ।
आज रातिबाट उक्त प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले आइतबारदेखि मौसममा सुधार हुने देखिएको जल तथा मौसम विज्ञान विभागकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। 'आइतबारदेखि दुई/तीन दिन मौसम सुधार हुने र बुधबार-बिहीबारदेखि पुनः अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ,' उनले भनिन्।
राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्का वर्षा भइरहेको छ। आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले औँल्याएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री र अधिकतम तापक्रम ९.३ डिग्री सेल्सियस रहेको छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.१ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम १९.० डिग्री सेल्सियस रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।