काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको प्रदर्शन राम्रो रहेको भन्दै प्रशंसा गरेका छन्। शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै उनले अझ धेरै मैत्रीपूर्ण खेल आयोजना गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री देउवाले खेलकुद मन्त्रालय र नेपाल सरकार फुटबल विकासका लागि सहयोग गर्न सधैं तयार रहेको बताएको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए।
‘प्रधानमनत्रीज्यूले नेपाली खेलाडीको प्रदर्शन राम्रो रहेको र अझ एक्सपोजरका लागि मैत्रीपूर्ण खेलहरु आयोजना गर्नुपर्ने बताउनुभयो। मन्त्रालय र नेपाल सरकारले फुटबल विकासका लागि सहयोग गर्न सधैं तयार रहेको बताउनुभयो,’ उपाध्यायले नेपाल लाइभसँग भने।
नेपाली टोली एसियन कप छनोटको तयारीमा रहेको प्रधानमन्त्री देउवालाई जानकारी दिएको पनि उपाध्यायले बताए।
कार्यक्रममा मुख्य प्रशिक्षक अल्मुताइरीलाई प्रधानमन्त्री देउवाले सम्मान गरेका थिए। अल्मुताइरीको प्रशिक्षणमा नेपाली टोली गत असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा ३ दशक लामो इतिहासमा पहिलोपटक फाइनलमा पुगेको थियो।
तर, फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो। उपविजेता टोलीका खेलाडी, सहायक प्रशिक्षकलाई गत महिना सम्मान गर्दा अल्मुताइरी माल्दिभ्सबाट कतार गएका थिए।
सरकारले उपविजेता टोलीका २३ खेलाडीलाई जनही पाँच लाख र तीन जना प्रशिक्षकलाई जनही तीन लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार यसअघि नै खेलाडीहरुलाई सम्मान गरिएको थियो। मुख्य प्रशिक्षक अल्मुताइरी भने नेपालबाहिर रहेका कारण त्यतिबेला सम्मान लिन छुटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।