काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन्। शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन्।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा गत कात्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको थियो। असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ तथा प्रशिक्षकलाई तीन लाख रुपैयाँ पुरस्कारले पुरस्कृत गर्ने निर्णयअन्तर्गत अल्मुताइरीलाई सम्मान गरिएको हो।
यसअघि सरकारले गत पुस ६ गते राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरिसकेको छ। उक्त समयमा अल्मुताइरी नेपालमा नरहेको कारण उनलाई आज सम्मान गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।