काठमाडौं– ब्रिङ मिडिया डिट्रिब्युसन प्रालि काठमाडौंका सञ्चालक र भारतीय ब्रोडकास्टिङ कम्पनी स्टार इन्डिया प्रालिको नेपालका वितरकसहित ४ जना विरुद्ध राजस्व छलीको आरोपमा मुद्दा दर्ता भएको छ।
राजस्व अनुसन्धान विभागले बिगो र बिगो बराबर थप जरिवाना समेत गरी ३७ करोड ५५ लाख रुपैयाँ जरिवानाको मागदाबी गर्दै ४ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।
विभागले ब्रिङ मिडिया डिस्ट्रिब्युसनका सञ्चालक चन्द्र बहादुर अधिकारी, स्टार इन्डिया प्रालिको नेपाल वितरक जुपिटर मिडिया प्रालिका सञ्चालक अञ्जली अरोरा, ब्रिङ मिडियाका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन खत्रीलाई प्रतिवादी बनाएको छ।
विभागका अनुसार ब्रिङ मिडियाले मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दाबी र आयकरतर्फ खर्च दाबी गरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको देखिएको छ। कम्पनीले विभिन्न फर्म/कम्पनीहरुबाट बस्तु तथा सेवा बेगरको कर विजक मात्र लिएर आफूले व्यावसायिक रुपमा गरेका सम्झौता अनुसारको प्राप्त हुने व्यावसायिक आयलाई लुकाएको विभागले जनाएको छ।
ब्रिङ मिडियाले व्यावसायिक कारोबारका लागि कम्पनीको नाममा खोलिएका बैंक खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी देखाउनु पर्ने बास्तविक कारोबार नदेखाइ, नपाउने खर्च समेत दाबी गरी मूल्य मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दाबी र आयकरतर्फ खर्च दाबी गरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागले जनाएको छ।
विभागका अनुसार ब्रिङ मिडिया र स्टार इन्डिया प्रालिका सञ्चालकहरुले मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ६ करोड ११ लाख ५५ हजार ५१५ रुपैयाँ तथा लाभांश कर समेत गरी आय करतर्फ १२ करोड १६ लाख २८ हजार २३७ रुपैयाँ गरी १८ करोड २७ लाख ८३ हजार ७५२ रुपैयाँ छली गरेको विभागले जनाएको छ।
विभागले चारै जनाविरुद्ध १८ करोड २७ लाख रुपैयाँ बिगो कायम गर्दै बिगो असुल गरी बिगोको शतप्रतिशत जरिवाना र ब्याज समेत भराइ पाउन मागदाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।