काठमाडौं– आयोजक क्यामरुनलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ।
निर्धारित र थप गरिएको अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा इजिप्टका जिजो, मोहम्मेद एब्डेलमोनेम र मोहनाद लासहिनले गोल गरेका क्यामरुनका भिन्सेन्ट एवोउवकारले मात्रै गोल गर्न सके।
गोलरक्षक मोहम्मेद एब्डोउगवलले क्यामरुनका दोस्रो र तेस्रो पेनाल्टी बचाउँदा चौथो पेनाल्टी बाहिरिएपछि इजिप्टको जित सम्भव भएको थियो।
ओम्निस्पोर्ट्स पउल विया याओन्डेमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले निर्धारित र अतिरिक्त समयमा गोल गर्न सकेनन्।
अब अफ्रिका कप अप नेसन्सको सर्वाधिक सफल इजिप्टले उपाधिका लागि सेनेगलको सामना गर्नेछ। फाइनल ६ फेब्रुअरीको राति हुनेछ। सेनेगलले यसअघि बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ।
जनवरी ९ देखि सुरु भएको अफ्रिका कप अफ नेसन्समा २४ टोलीको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।