काठमाडौं- अमेरिकाले आईएसआईएल (आईएसआईएस)का नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरैशी मारिएको दाबी गरेको छ।
राष्ट्रपति जो वाइडेनले सिरियामा रातभरको आक्रमणमा उनी मारिएको दाबी गरेका हुन्।
‘मेरो निर्देशनमा हिजो राति उत्तरपश्चिम सिरियामा अमेरिकी सेनाले आफ्ना जनता र हाम्रा सहयोगीहरूको रक्षा गर्न तथा विश्वलाई सुरक्षित स्थान बनाउन सफलतापूर्वक आतंकवाद विरोधी अभियान चलायो,’ उनले भने, ‘हाम्रो सशस्त्र बलको कौशलता र बहादुरीलाई धन्यवाद। हामीले नेता कुरैशीलाई युद्धको मैदानबाट हटाएका छौं।’
वरिष्ठ अमेरिकी अधिकारीका अनुसार उनीहरुले आफूले आफैंलाई विस्फोट गराएका थिए। त्यसक्रममा ६ बालबालिका र ४ महिलाको मृत्यु भएको छ।
‘अपरेसनको सुरुमा आतंकवादीहरुले बम विष्फोट गरे। जसमा उनीहरु, महिला र बालबालिकासहित उनीहरुको आफ्नै परिवारका सदस्यहरू मारिए,’ अधिकारीले भने। आईएसआईएसले २०१९ मा पूर्वनेता अबु बकर अल-बग्दादीको मृत्यु भएको पुष्टि गरेपछि कुरैशीलाई आफ्नो संगठन प्रमुखको रूपमा नियुक्त गरेको थियो।
कुरैशीले आईएसआईएल विशेष गरी संकटमा परेको बेला संगठनको नेतृत्व लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।