यो लेख नेपालका विभिन्न जातीय सन्दर्भ र प्रसङ्गमा आधारित छ। खासगरी तत्कालीन मेची, कोशी र सगरमाथा अञ्चललाई लेखको आधार मानिएको छ। यी क्षेत्रमा बसोवास गर्ने जातजातिका परम्परा र प्रचलनमा रहेका लोकबाजाबारे उल्लेख गरिएको छ।
लोकबाजा, लोकगीत, लोककथा, लोकनाटक, लोकसङ्गीत अथवा लोकसंस्कृति आदि शब्दहरू सामान्यजस्ता देखिए पनि हाम्रो मस्तिष्कलाई एउटा विशेष अवधारणाको स्थितिमा पुर्याउँछन्। ‘लोक’ शब्दले समाज, जनता, जगत, जनजीवन, प्राणी वा संसार आदि भौतिक परिवेशलाई नै परिभाषित गरेको देखिन्छ।
पृथक दुई शब्द ‘लोक’ र ‘बाजा’ मिलेर बनेको संयुक्त शब्द हो –लोकबाजा। यसलाई अंग्रेजी शब्दको ‘फोक म्युजिक इन्स्ट्रुमेन्ट’को पर्याय मानिन्छ, जसको सिधा अर्थ लोक वा समाज अथवा कुनै पनि जनजातिमा प्रचलित बाजा भन्ने बुझिन्छ। अंग्रेजी भाषामा प्रचलित फोकको सामान्य अर्थ ग्रामीण, असंस्कृत वा अशिक्षित भन्ने हुन्छ। जुनसुकै समाज, जाति र भाषाको पृष्ठभूमिमा बृहत् सभ्यताको परम्परा अलिखित, अविकसित वा प्राच्य स्वरूपमा, तर प्रदर्शनकारी रूपमा बाजा संस्कृति रहेको हुन्छ। त्यसैलाई लोकबाजा भनिएको हो।
बुलु मुकारुङनेपालमा सूचीकृत जनजातिमध्ये किसान, गन्गाई, गुरुङ, झाँगड, ताजपुरिया, तामाङ, तोक्पेगोला, थारू, थदाम, दनुवार, धानुक, धिमाल, भुजेल, मगर, माझी, याक्खा, राई, राजवंशी, लिम्बू, लाप्चा, वालुङ, शेर्पा, सतार, सुनुवार, आठपहरिया राई आदिले प्रयोग गर्ने लोकबाजाका छोटा विवरण यो लेखमा दिइएको छ। ती बाजागाजाको अवस्था, प्रयोग र प्रचलनबारे उल्लेख गरिएको छ।
आधुनिक वाद्ययन्त्र जस्तै गरी लोकबाजालाई पनि चार वर्गमा विभाजन गर्न सकिन्छ। क) तारका बाजा– तत्वाद्य ख) फुकेर बजाइने– शुषिरवाद्य ग) छालाले मोरिएका– आनवद्धवाद्य र घ) कोट्यार वा ठोकेर बजाइने बाजा– घनवाद्य। तथापि, यस लेखमा उल्लेखित बाजाहरूलाई यसरी वर्गीकरण गरिएको छैन।
फरक जाति, फरक बाजा
किसान जाति र बाजा : लोपान्मुख किसान जातिको बसोवास झापा जिल्लाको धुलाबारी र धाइजनमा मात्र छ। जातिजस्तै भाषा र बाजा पनि लोपोन्मुख छन्। यस जातिका जातिगत बाजा ढाँक, ढोलकी, मादर, नगेरा, डाँफ्ला, बस्री, झाँइज, सहनाई, घुँघर आदि हुन्। जसमध्ये केही बाजा लोपोन्मुख छन् र केही लोप भइसकेका छन्।
गन्गाई जाति र बाजा : सिमान्तकृत आदिवासी गन्गाई जातिको मुख्य बसोबास मोरङ र झापा जिल्लामा छ। मोरङ्गीय गन्गाईले मैथिली र झापाली गन्गाईले राजवंशी भाषा बोल्छन्। यस जातिका बाजाहरू मृदङ, नगडा, ढोल, झाल, खोल, मूर्छल, झालर, रण्टी, घडीघन्टा, घन्टी आदि हुन्। यस जातिका पनि कतिपय बाजा लोप भइसकेका छन्।
गुरुङ जाति र बाजा : गुरुङ जातिको बसोबास नेपालका प्रायः सबै जिल्लामा रहे पनि गण्डक क्षेत्रलाई उद्गम थलो मानिन्छ। पूर्वाञ्चलका भन्दा पश्चिमाञ्चलमा बसोबास गर्ने गुरुङ जातिले बढी मात्रामा जातीय बाजाको प्रयोग गरेको देखिन्छ। यस जातिका बाजाहरू कोप्रे, तौँदू, छैंडू, घोरलसिङ्गी, धनुसारङ्गी (तीनतारे), खैंजडी, एकपाखे ङह, छेँले–झ्याम्टा, मादल आदि हुन्।
झाँगड–उराव जाति र बाजा : आदिवासी उराव जाति नै झाँगड तथा धाँगड नामले परिचित रहेका छन् भने हिजोआज उराव भन्न थालिएको छ। यसजातिको सघन बसोबास सुनसरी जिल्लामा रहेको देखिन्छ। यस जातिले प्रयोगमा ल्याएका बाजाहरू खेल, ढुल्की, डिगरी, झाँज, तिरियो, डिपडिया, मानर, मनरा, घुँगुर र झाँगडढोल आदि हुन्।
ताजपुरिया र राजवंशी जाति र बाजा : ताजपुरिया जातिलाई राज्यले सीमान्तकृत समूहमा राखेको पाइन्छ। उनीहरूको बाजा तथा भाषा–संस्कृति भने राजवंशी जातिसँग मिल्न आउँछ। यी दुवै जातिको सघन बसोबास झापा जिल्लामा छ। यी दुवै जातिका बाजा ढुलुक, ढुमरी, कर्ताल, घुगुमुगु, नथुर, खुट्खुटिया, काडा–तर्तरिया, ठुन्ठुनिया, सहाना, घुग्रा, खोल, मुरली, खनजडी–रामताल, कर्नेट, मेडिकस आदि हुन्। यी जातिका भाषा र बाजा संस्कृति एकै प्रकारको हुनुले कुनै युगमा यी जाति दुई समूहमा विभाजित भएको वा एकै ठाउँमा बसोबास गर्नाले सांस्कृतिक सम्मिलन भएको अनुमान गर्न सकिन्छ।
तामाङ जाति र बाजा : तामाङ जाति नेपालका सबै जिल्लामा बसोबास गरेको देखिए पनि सघन रूपमा काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक आदि जिल्लामा छन्। पूर्वाञ्चलमा पनि यस जातिको बाक्लो उपस्थिति छ। यस जातिका बाजाहरू डम्फू, टुङ्ना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बू, कलिङ, भाटेमादल, पुली, पिहुङ आदि हुन्।
तोप्केगोला (ठोक्प्या) जाति र बाजा : यस जातिलाई लिम्बू जातिकै एक शाखाका रूपमा लिने गरिन्छ तापनि बसोबास र भाषा–संस्कृतिका आधारमा फरक पाइन्छ। यस जातिको बसोबास ताप्लेजुङ्ग जिल्लाको तोप्केगोला (पाँच हजार फिटको हाराहारी) भन्ने ठाउँमा रहेकाले पनि यस जातिलाई तोप्केगोला भनिएको हो। तर, यी जाति ठोक्प्या जाति हुन्। यस जातिका बाजाहरू ढम्ङे, ह्यान्जिङ, लिङ्बू, काङकाङ, फलाम काङकाङ साथै धार्मिक बाजाहरू रादुङ, धुङ, ग्यालिङ, काङलिङ, ठिबू, डमरू, ङह आदि हुन्।
थारू जाति र बाजा : बसोबासका हिसाबले यो जाति झापादेखि कैलाली–कञ्चनपुरसम्म छन्। पूर्वका भन्दा पश्चिमका थारूले बाजा परम्परालाई अंगालिरहेको पाइन्छ। यस जातिका बाजाहरू कारा, खँजडा, गोल्की, झुमरी मादल, टिम्की, ठेकारा, बसिया, ढ्वाल, बौसी, सखिया मादल, मजैरा, मंदरा, मैनामुरली, मनार, डफा, डुगडुगी, घडा, रेउनी, झर्रा, नारा, तमौरा, पिपही, पिडरी पिल्हरू (माटोको), कस्टार, चट्कौली आदि हुन्।
थुदाम जाति र बाजा : संखुवासभा जिल्लाको चेप्वा भन्ने गाउँमा बसोबास गर्ने जाति नै थुदाम हुन्। अति सिमान्तकृत थुदाम जातिका बाजाहरू पिवाङ, टुङना, मुरली, कल्ली साथै ङ– (ढ्याङग्रो), शङ्ख, डिल्बु, ग्यालिङ आदि प्रचलनमा रहेका छन्। यस प्रकारका धार्मिक बाजाहरू हिमाली जातिबीच सबैको मिल्न आउँछ।
दनुवार जाति र बाजा : यस जातिको बसोबास सघन उदयपुर जिल्लामा रहेको देखिन्छ। यस जातिमा पुरानो रामदले लोकभाका पाइन्छ, जसलाई कृषि लोकगीतका रूपमा लिइन्छ। यस जातिका बाजाहरू ढोल, घाँडो, डफरा, घुँगर, धुथुर, झ्याल आदि हुन्।
धानुक जाति र बाजा : धानुक जातिको बसोबास झापा जिल्लादेखि पश्चिम तराई–मधेशमा पर्ने अधिकांश जिल्लाहरूमा रहेको देखिन्छ। यस जातिमा पाइने बाजाहरू ढोल, झाइल, बोसली, पिपिही, डफा, मृदंग, खोजरी आदि हुन्। जो मैथिली बाजा संस्कृतिसँग पनि मिलेको देखिन्छ।
धिमाल जाति र बाजा : विशेष गरेर झापा तथा मोरङ जिल्लाका गाउँ–बस्तीमा बाक्लो रूपमा बसोबास गर्ने धिमाल जातिमा प्रचलित बाजाहरू जस्तै, उर्नी, तुन्जाई, ढोल, गुमाना, चाप्टा, बासुली, घाघुरुङ आदि। उर्नी, तुन्जाई जस्ता अति प्राचीन धिमाल बाजा संरक्षणको पर्खाइमा छन्।
भुजेल जाति र बाजा : पूर्वाञ्चलमा भुजेल जातिको बसोबास पातलो छ। यस जातिका बाजाहरू कडिया, खैंजडी, मादल, मुरली, बाँसुरी, मुरली, झ्याम्टा आदि हुन्। पूर्व क्षेत्रमा यस जातिका बाजा र भाषा परम्परा लोपोन्मुख छन्।
मगर जाति र बाजा : नेपालभरि नै छरिएर बसोबास गर्दै आएका मगर जातिका बाजाहरू खैंजडी, मादल, झ्याली, अलङ्का, कुटकुटे, मचेटा, दुन्दी, च्याखुरेबाजा, केतुकीबाजा, छेलर, नङ्रा, पैजन, दरबङा, रिङ, बासुली आदि हुन्। केही बाजा लोप भइसकेका छन्।
माझी जाति र बाजा : अति सीमान्तकृत माझी जाति दोलखा, रामेछाप साथै धनकुटाको तमोर नदी वरपर रहेको छ। यस जातिमा रहेका बाजाहरू ढोल, मादल, झ्याली, घण्टा, भाली, झुली आदि हुन्। माझी बाजा तथा भाषा सम्पदा विलुप्त हुने स्थितिमा पुगेको देखिन्छ।
मेचे जाति र बाजा : मेचे जातिको बसोबास क्षेत्र झापा जिल्लामा साथै भारतको आसाम क्षेत्रमा पनि छ। यस जातिका बाजाहरू खाम, खोर्थाल, रामथाल, छिफुङ, वाखेल्ठोक, झुनझुनिया, बिनी, सेर्जा, भेली आदि हुन्। यस जातिमा भिन्न प्रकारका बाजा र वादनको अभ्यास छ।
याक्खा जाति र बाजा : यस जातिका मुख्य बसोबास क्षेत्र संखुवासभा मानिन्छ। किरातभित्रैका याक्खा–देवान जातिका बााजाहरू केयी, केयीसाङ, बिनायो, मुर्चुङ्गा आदि हुन्।
राई जाति र बाजा : पूर्वाञ्चलका पहाडी र केही तराई–मधेशका जिल्लामा बसोबास गर्ने राई जातिका बाजाहरू केन्, साब्लाकेन्, यलम्बर, सिचिया, पुङ, लाङकाङ, सिलिमी, बिम्बिलिमा, सपोक्सा, माठुरी, बिनायो, मुर्चुङ्गा, तुम्बा, बिल्लौरी आदि हुन्। केही बाजा भने लोप भइसकेका छन्।
लिम्बू जाति र बाजा : लिम्बू जातिका बाजाहरू के–च्याब्रुङ, कोममिक्ला, फाक्वा, मुक्साङ, केसाङ, सिर्बोङ, मेक्फामा, फामुक, फेन्जे, तुङगेवा, काँशेथाल आदि हुन्। लिम्बू जातिको प्रचलित बाजा के अर्थात् च्याब्रुङ नै हो। ढोल बजाएर नाच्ने हुनाले च्याबु्रङ नाच भन्ने गरिएको पाइन्छ।
लाप्चा जाति र बाजा : पूर्वाञ्चलको इलाम जिल्ला तथा दार्जीलिङ, सिक्किम आदि क्षेत्रमा बसोबास गर्ने लाप्चा जाति नेपालका आदिवासीमध्ये लोपोन्मुख जातिमा पर्छन्। नेपालमा यस जातिको जनसंख्या चार हजारको हाराहारीमा छ। यस जातिका बाजाहरू चाप्राजाङ, पन्तोङ पलित, निब्रियो पलित, स्युतपलित, स्युतटोक्रो, टोङबोक, साच्सङ, पटे आदि हुन्। धार्मिक अनुष्ठानमा सोङतोङदुर, ग्यालिङ, छदुङ, डमू, डमरू आदि बाजा प्रयोग गरिन्छ।
वालुङ जाति र बाजा : हिमाली क्षेत्रका वालुङ जाति ताप्लेजुङ्ग जिल्लाको ओलाङचुङगोलामा बसोबास गर्दछन्। यो पनि लोपुन्मुख जाति हो। यस जातिका बाजाहरू बुक्स्याल, टुङना, ङहा, ध्यालिङ, पिवाङ आदि हुन्। जाति जस्तै बाजा पनि निकै कम प्रयोगमा छन्।
शेर्पा जाति र बाजा : हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातिका बाजाहरू डम्ज्याङ, याङजे, पिवाङ, बुक्स्याल, ग्यालिङ, साङडुङ, काङलिङ, च्योदर, तिङ, टिहलुक, दोमर आदि हुन्। यी बाजा धार्मिक अनुष्ठान तथा अन्य समयमा प्रयोग गरिन्छ।
सतार जाति र बाजा : सतार जातिलाई हिजोआज सन्थाल जातिका नामले चिनिन्छ। यस जातिको सघन बसोबास झापा, मोरङ र सुनसरी जिल्लामा छ। यस जातिका बाजाहरू तुम्दा, टामाङ, ढोल, बटा, ढुल्की, राहाड, बसी, दोत्रोबनाम, ठाप, घाँगल, कुर्ताल, जुरी र सतारसिठी आदि हुन्।
सुनुवार जाति र बाजा : सुनकोशी नदी पूर्वमा सघन रूपमा बसोबास गर्ने सुनुवार जातिका बाजाहरू गुँइदुवा, बुक्थेल, खर्ङा, टोहुङ, न्योहु, ब्रिप्चरङ्गी, कप्टेरा, टुङ्ना, पुडिपु, क्योङ्ग, मचिङगा आदि हुन्। दुन क्षेत्रमा बसोबास गर्नेलाई दनुवार भने जस्तै सुनकोशी वरपर बसोबास गर्नेलाई सुनुवार भनिएको देखिन्छ।
आठपहरिया राई जाति र बाजा : हालसम्म सूचीकृत नभएको आठपहरिया राई जातिको बसोबास धनकुटा जिल्लामा छ। करिब एक लाख जनसंख्या रहेको यस जातिका आफ्नै भाषा तथा बाजा संस्कृति छ। यस जातिमा पाइने बाजाहरू क्यासिङ, छाङछुप्पा, आङगोम, फलाम आङ्गोम, सातप्वाले मुरली, मान्डाला, पोङ्गे आदि हुन्।
अन्य लोकबाजाहरू : पूर्वाञ्चलको सामाजिक संस्कृतिमा बलियो गरी प्रचलनमा रहेका बाजामा पञ्चैबाजा अर्थात् दमाहा, ट्याम्को, सहनाई, नरसिंगा, कर्नाल आदि हुन्। मादल, सारङ्गी, बाँसुरी, बिनायो, मुर्चुङ्गा पनि चल्तीमा छन्। लोकविश्वास र विधिमा रहेको ढ्याङ्ग्रो, शङ्ख, सिङ आदि बाजा पनि प्रचलनमा छन्।
लोपोन्मुख लोकबाजा
डुम जातिले बजाउने ‘ओढनी’ वा ओदनी, राई जातिले बजाउने बाजा ‘सिचिया’, ‘बिम्बिली’, ‘यलम्बर’, लिम्बू जातिले बजाउने बाजा ‘फामुक’, राजवंशी तथा ताजपुरिया जातिले बजाउने बाजा ‘दोदरा’ लोपोन्मुख छन्। धिमाल जातिको ‘उर्नी’ र ‘तुन्जाई’ वालुङ जातिको ‘पिवाङ’, ‘लाप्चा जातिको ‘पलित’ र ‘टोङबोक’, मेचे जातिको ‘छिफुङ’, किसान जातिको ‘बस्री’ र ‘डाँफ्ला’ पनि लोपुन्मुख छन्। त्यसैगरी गन्गाई जातिको ‘मुर्छल’ र ‘नगडा’ गुरुङ जातिको ‘धनुसारङ्गी’, थारू जातिको ‘पिल्हरू’, कुमाल जातिको ‘माटेमुरली’, ‘घैला’ लगायत थुप्रै लोकबाजाहरू लोपोन्मुख छन्।
तथापि, तालवाद्य भन्दा पनि सुरवाद्य र तारवाद्य प्रायः लोपोन्मुख छन्। उल्लेखित लोकबाजा लोप हुने कारणहरूमा नेपाली लोकबाजाबाट वृत्ति–विकास नहुनु, लोकबाजामा वैज्ञानिक विकास नआउनु र आधुनिक बाजाप्रति समाजको आकर्षण बढ्नु आदि हुन्।
नेपाली लोकबाजाको महत्व, आफ्नोपन र उपादेयता नेपालमा मात्र नभएर विश्वभरि नै रहेको देखिन्छ। बढी प्रचलनमा रहेको नेपाली लोकबाजा मादल हो। यसको चर्चा पनि धेरै भएको छ। २०३१ सालमा काजी सिंह र नरेन्द्र गजमेरले ‘मादल’ नामक कृति दार्जीलिङबाट प्रकाशन गरेका छन्। २०४२ सालमा सुवी शाहले साझा प्रकाशन काठमाडौंबाट पनि यही नामको कृति प्रकाशन गरेको पाइन्छ।।
बेलायती नागरिक क्यारोल टिङ्गेले ‘हर्टबिट अफ नेपाल : द पञ्चेबाजा’ नामक पुस्तक प्रकाशन गरेकी छन्। यस पुस्तकले नेपाली लोकबाजाको महत्व र उपादेयतामाथि प्रकाश पारेको छ। यसपछि सुशील गौतमले ‘सारङ्गी’ (२०६४) नामक कृति प्रकाशन गरेका छन्। यसबाहेक एकल बाजाका कृति प्रकाशित हुन नसके पनि बाजाबारे परिचायत्मक कृति लेखिएको छ। रामप्रसाद कँडेलले ‘नेपाली लोकबाजा’ (२०६१), रामशरण दर्नालले ‘नेपाली बाजा’ (२०६१) लगायत पुस्तक प्रकाशन गरेका छन्।
नेपाली समाजको बिहे परम्परामा पञ्चैबाजाको प्रयोग हुन्छ। भोजपुरी बिहे संस्कारमा मानरपूजा (ढोलको पूजा) हुन्छ। हिमाली जाति थुदाम, वालुङ, तोप्के–ठोक्प्या आदिका बिहेवारीमा बजाइने जातीय बाजा र सँगसँगै प्रदर्शित हुने नाचले लोकबाजाको उपादेयता र महत्वलाई दर्शाइरहेको पाइन्छ। कतै धार्मिक, कतै मार्मिक र हार्दिक भएर लोकबाजा प्रयुक्त छन्। व्यवसायिकता र पेसाका हिसाबले सारङ्गी, मादल, टुङ्ना, बाँसुरी, मुर्चुङ्गा आदि लोकबाजा नेपाली परिवेशमा मात्र होइन विश्व परिवेशमा पनि उत्तिकै चर्चित, लोकप्रिय र उपयोगी बनेको देखिन्छ। लोकवादकहरूले यिनै बाजा वादनको प्रस्तुतिका लागि विदेशी भूमिमा पुग्ने अवसर प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।