काठमाडौं- अफ्रिकी फुटबल महासंघ (काफ) ले ८ जनाको ज्यान जाने गरी भागदौड मच्चिएको स्टेड ओलेम्बे रंगशालामै अफ्रिका कप अफ नेसन्सको फाइनल खेलाउन अनुमति दिइएको छ।
२४ जनवरीमा क्यामरुन र कोमोरसबीचको खेलअघि रंगशाला प्रवेश गर्न लाग्दा भएको भागदौडमा एक बालकसहित ८ समर्थकको मृत्यु भएको थियो। तर, काफले अस्थायी निलम्बन फुकुवा गर्दै दोस्रो सेमिफाइनल र फाइनल खेलाउन अनुमति दिएको हो।
काफका अनुसार उक्त रंगशालामा बिहीबार राति हुने आयोजक राष्ट्र क्यामरुन र इजिप्टबीचको दोस्रो सेमिफाइनल तथा ६ फेब्रुअरीमा फाइनल खेलाउन अनुमति दिइएको छ।
स्थानीय आयोजक समिति र क्यामरुन सरकारले स्टेड ओलेम्बे रंगशालाको सुरक्षा तथा सुविधामा उल्लेख्य वृद्धि गरेको र दर्शक र पाहुनाको सुरक्षा सुनिश्चितता गरेको भन्दै निलम्बन फुकुवा गरेको काफले जनाएको छ।
‘अतिरिक्त सुरक्षा प्रावधानबारे सरकारको सिफारिस र संवेदनशीलता ध्यानमा राख्दै काफको आयोजना समितिले सर्वसम्मत रूपमा यो रंगशालाको निलम्बन फुकुवा गर्ने निर्णय गरिएको छ,’ काफबाट जारी वक्तव्यमा भनिएको छ।
गत साता सोमबार कुल ६० हजार दर्शक क्षमताको रंगशालामा कोरोना महामारीका कारण ८० प्रतिशत दर्शकलाई मात्र प्रवेश अनुमति रहेकोमा करिब ५० हजार दर्शकहरुबीच भागदौड मच्चिएको थियो।
खेल पदाधिकारीहरुका अनुसार ८० प्रतिशतभन्दा बढी ५० हजारको संख्यामा रंगशालाको दक्षिण गेटमा जम्मा भएका समर्थकबीच भागदौड मच्चिएको थियो।
घटनामा घाइते ३८ जनाको उपचार भइरहेको छ।क्यामरुनका खेलकुदमन्त्रीले शुक्रबार यो घटनामा सुरक्षाकर्मीलाई नै दोष दिएका थिए। तर, प्रत्यदर्शीका अनुसार प्रहरीले रंगशालाका प्रवेशद्वार खोल्नु अगाडि नै भागदौड मच्चिएको थियोे।
६० हजार दर्शक क्षमताको यो रंगशाला अफ्रिका कप अफ नेसन्स प्रतियोगिता सञ्चालन गर्नका लागि निर्माण गरिएको हो। सो घटनापछि यही रंगशालामा निर्धारित एक क्वाटरफाइनल खेल याउन्डेको अहमादोउ अहिदजो रंगशालामा सारिएको थियो।
इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो माने चम्कदा सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ।
बुधबार राति भएको खेलमा बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै सेनेगल सेनेगल तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो।
सेनेगलको जितमा एब्डोउ डिएलो, इड्रिसा गाना गुआइ र साडियो मानले गोल गरे। मानेले एक असिस्ट समेत दिए। बुर्किना फासोका इब्राहिमा ब्लाटी टाउरेले एक गोल फर्काए।
सेनेगल यसअघि सन् २००२ र २०१९ मा फाइनलमा प्रवेश गरेपनि उपाधि जित्न सकेको छैन।
सेनेगलसँगको हारसँगै बुर्किना फासो दोस्रोपटक फाइनल पुग्नबाट वञ्चित बनेको छ। बुर्किना फासो यसअघि २०१३ मा फाइनलमा प्रवेश गरेको थियो । उपाधि भने जित्न सकेको छैन।
अब सेनेगलले उपाधिका लागि आयोजक क्यामरुन र इजिप्टबीचको विजेतासँग ६ फेब्रुअरीमा खेल्नेछ। सोही दिन तेस्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।