काठमाडौं– तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका फरवार्ड विमल घर्तीमगरले मैदान फर्कन पाउँदा खुसी व्यक्त गरेका छन्। मरिससविरुद्ध शनिबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उनले निर्णायक गोल गरेका थिए।
उक्त १ गोलसहित विमलको अन्तर्राष्ट्रिय गोल संख्या ९ पुगेको छ। विमलले मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेल पनि खेलेका थिए। तर, उनले अघिल्लो खेलको प्रदर्शनलाई कायम राख्न सकेनन्।
लामो समयपछि मैदान फर्कन पाएकोमा खुसी व्यक्त गर्दै विमलले सामाजिक सञ्जालमा उतारचढाव पश्चात् शारीरिक र मानसिक रुपमा सबल भई मैदानमा नेपालको झण्डा अंकित जर्सी लाएर छातिमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको गर्व महसुस भएको बताएका छन्।
उनले लेखेका छन्, ‘सायद सूर्य अस्ताउने भनेकै भोलि उदाउनको लागि हो! निकै लामो समय प्रत्यक्षरूपमा मैदानभित्र नरहदा पनि भावनात्मक रूपमा राष्ट्रप्रति सदैव आफ्नो शतप्रतिशत साथ रहिरह्यो। उतारचढाव पश्चात् शारीरिक र मानसिक रुपमा सबल भई मैदानमा नेपालको झण्डा अंकित जर्सी लाएर छातिमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षणलाई म अरू कुनै कुरासँग तुलना गर्न सक्दिन! टिमको साथ, दर्शकको माया र प्रशिक्षकको विश्वासलाई सदैव आत्मसाथ गर्दै आउने दिनमा पनि नेपालीमा खुसी बाड्न सदैव तत्पर हुनेछु। मेरालागि सबै र सबैको लागि म।’
विमललाई राष्ट्रिय टोलीमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पुनरागमन गराएका हुन्। तर, एक खेलमा विमलले गोल गरेपनि शतप्रतिशत दिन नसकेको अल्मुताइरीले बताएका थिए। उनले विमलले खेलमा अझै सुधार गर्नुपर्ने सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।