डा केयुर गौतम प्याथोलोजिष्ट हुन्। सम्यक डायग्नोस्टिकका अध्यक्ष डा गौतम फुटबललाई बेहद प्रेम गर्छन्। काठमाडौँको न्युरोडमा जन्मिएका उनको फुटबलसँग पिरति भने अफ्रिका बसाइँमा गाँसियो । उनका बुवा कामको सिलसिलामा अफ्रिका रहेकाले उनी अफ्रिकामा हुर्किए। उनका बुवाले त्यहीँ उनलाई फुटबल खेल्न सिकाए। उनी बुवासँगै फुटबल खेल्न थाले।
६ वर्षको उमेरमा उनी काठमाडाैं फर्किएर सेन्ट जेभियर्स स्कुलमा पढ्न थाले। त्यहाँ पढाइका साथसाथै एक्ट्रा एक्टिभिटिजमा पनि सहभागी हुनुपथ्र्यो। डा गौतमले फुटबल र भलिबल रोजे । उनी स्कुलमा हुने प्रत्यक फुटबल प्रतियोगितामा भाग लिन्थे।
उच्च शिक्षा अध्ययनका लागि उनी फिलिपिन्स पुगे। त्यहाँ पनि उनीबाट फुटबल टाढिएन। थुप्रै इन्टर कलेज फुटबल प्रतियोगितामा भाग लिने मौका मिल्यो उनलाई। ‘फिलिपिन्समा पढ्दा त्यहाँको स्वतन्त्रता दिवसको दिन नेशनल टिम आर्मीका टिमसँग फुटबल खेलेको छु,’ उनी सम्झिन्छन्।
फिलिपिन्समा ९ वर्ष बस्दा उनले थुप्रैपल्ट फुटबल प्रतियोगितामा सहभागी हुने मौका पाएका छन्। फिलिपिन्सबाट फर्किएपछि उनी काममा व्यस्त हुन थाले। यो अवस्थामा फुटबल खेल्न छाडिएला भन्ने उनलाई पीर थियो। त्यसैले उनले अफिसकै कर्मचारीहरुसँग दुईहप्ताको एकपल्ट फुटसल खेल्ने योजना बनाए। त्यही अनुसार ८ वर्षदेखि फुटसल खेलिरहेका छन्। उनी भन्छन्, ‘खेल्दा शरीर फिट रहनुका साथै भाइचाराको विकास हुन्छ ।’

सानैदेखि फुटबल खेलेपनि विजेता कहिल्यै हुन सकेनन्। ‘खेलेर पहिलो पुरस्कार जित्न भने सकिएन दोस्रो र तेस्रो भने भइयो,’ उनले भने। जर्सी लगाएर हिँड्न उनलाई असाध्यै रमाइलो लाग्छ। सानोमा जर्सी लगाएर खुब घुम्ने गर्थे । अहिले पनि उनमा जर्सी मोह उत्तिकै छ । तर, पेशाका कारण जर्सी लगाउन पाउँदैनन्। शनिबार जर्सी लगाएर रहर मेट्ने गरेको उनले खुलाए।
अहिले विश्वकप निरन्तर हेरिरहेका छन्। अर्जेन्टिनाका समर्थक हुन् उनी। उनी मात्रै होइन, उनका छोरा पनि अर्जेन्टिनाका फ्यान हुन्। फुटबल खेल्न मात्रै होइन, बाबुछोरा सँगै बसेर फुटबल हेर्दा पनि जर्सी लगाउँछन्।
‘छोरालाई फुटबल खेल्न निकै मन पर्छ । फुर्सद हुँदासम्म बाबुछोरा बेलुकी एकघन्टा जर्सी लगाएर फुटबल खेल्छौं,’ उनले भने, ‘फुटबल खेल्दा छोरासँग नजिक भइन्छ।’
उनी अर्जेन्टिनाको फ्यान सन् १९९० देखि भएका हुन्। त्यो समय म्याराडोना फुटबलका हिरो थियो। उनको चारैतिर चर्चा थियो। उनकै बारेमा बढी सुनेपछि समर्थक पनि उनकै भए। अहिलेसम्म पनि अर्जेन्टिनालाई उनी समर्थन गर्छन्। त्यो समय उनी फुटबलमा बाजी समेत लगाउँथे। बुवाआमाले खाजा खान भनेर दिएको १० रुपैयाँ बाजीमा हारेर भोकै फर्केका क्षण पनि उनको स्मृतिमा छन्।
फुटबलको पूर्ण आनन्द लिएर हेर्छन्। आफूलाई मन पर्ने टिक र खेलाडीले गोल हान्दा उनलाई आफैंले हानेजस्तो महशुस हुन्छ। मन पर्ने टिमको खेल राति अबेर भएपनि हेर्छन् तर अरु टिमको भने अबेर रातिको हेरिरहेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।