फाइल तस्बिर
काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको १०औं चरणका खेलहरू माघको अन्तिम साताबाट सुरु हुने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगका बाँकी खेलहरू माघको २७ गतेबाट सुरु गराउने तयारी गरेको हो।
एन्फाका लिग निर्देशक सञ्जिव मिश्रले लिगको १०औं चरणका खेलहरू माघको अन्तिम साता गर्ने तयारी भएको नेपाल लाइभलाई बताए।
‘अहिलेको तयारीअनुसार माघको २७ गतेबाट फागुनको १ गतेसम्म लिगका बाँकी खेलहरू गर्ने योजना रहेको छ,’ उनले भने।
नवौं चरणका खेलहरू सकिएपछि करिब तीन साताका लागि लिगमा ब्रेक भएको थियो। यो बीचमा नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मरिसससँग दुई मैत्रीपूर्ण खेल तालिका एन्फाले बनाएको थियो।
जसअन्तर्गत गत शनिबार नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससविरूद्व पहिलो खेल खेलिसकेको छ। उक्त खेलमा घरेलु टोली नेपालले विमल घर्तीमगरको गोलमा मरिससविरूद्व १-० गोल अन्तरको जित निकालेको थियो।
नवौं चरणसम्मको खेल सकिँदा साविक विजेता मच्छिन्द्र क्लव लिगको शीर्ष स्थानमा छ। उसले जारी लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। मछिन्द्रले ९ खेलमा ७ जित, २ बराबरी खेल्दै २३ अंक जोडेको छ।
अंक तालिकामा मच्छिन्द्रलाई पच्छ्याइरहेको मनाङले समान खेलमा ६ जित र एक बराबरी र २ हार व्यहोर्दै १९ अंक बनाएको छ। मनाङ मच्छिन्द्र र नवप्रवेशी सातदोबाटो युथ क्लवसँग पराजित भएको थियो।
तेस्रो स्थानमा रहेको विभागीय टोली त्रिभुवन आर्मीको १७ अंक छ। उसले समान खेलमा चार जित पाँच बराबरी खेलेको छ। यता, १६ अंक रहेको थ्रीस्टार क्लव चौथो स्थानमा छ।
यो पटकको लिगमा रेलिगेसनबाट बच्नका लागि च्यासल युथ क्लव र फ्रेन्ड्स क्लवमाथि बढी दबाब रहेको छ। च्यासलको ५ र फ्रेन्ड्सको ३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।