काठमाडौं– इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ। मोरोक्कोलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै इजिप्ट अन्तिम चारमा पुगेको हो।
एक गोलले पछि परेको स्थितिमा कप्तान मोमम्मद सलाहले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट दिएपछि इजिप्टले जित हात पारेको हो। इजिप्टको जितमा सलाहसँगै सब्सिच्युट फरवार्ड ट्राजिग्वेटले गोल गरे। मोरोक्कोका सोफिएन बोउफलले एक गोल फर्काए।
याओन्डेमा आइतबार राति भएको खेलको सातौ मिनेटमा सोफिएन बोउफलको पेनाल्टीमार्फत मोरक्कोले अग्रता दिएको थियो।
सुरुमै पेनाल्टीमा गोल खान पुगे पनि इजिप्टले मोरोक्कोलाई दवावमा राखेको थियो। ५३औं मिनेटमा कप्तान सलाहले गोल गर्दै इजिप्टलाई खेलमा फर्काए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो।
खेलको १००औं मिनेटमा ट्राजिग्वेटले गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए। दोस्रो हाफको सुुरुमै एहमेद हेगाजीको स्थानमा मैदान छिरेका उनले कप्तान मोहम्मद सलाहको पासमा गोल गरेका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा इजिप्टले सेमिफाइनलको यात्रा तय गरेको हो।
अब फाइनल प्रवेशका लागि इजिप्टले २ फेब्रुअरीमा क्यामरुनसँग खेल्नेछ। क्यामरुन शनिबार राति गाम्वियालाई २–० ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो।
अर्काे सेममिफाइनलमा सेनेगलले इक्वेटोरियल गिनियालाई ३–१ ले पराजित गरेको छ। सेनेगलको जितमा फामरा दिधिओउ, चेइखोउ कोउयाटे र एस्माइला सारले गोल गरे। इक्वेटोरियल गिनियाका जान्निक बुयाला सामले एक गोल फर्काए। अब सेनेगलले सेमिफाइनलमा ३ फेब्रुअरीमा बुर्किना फासोसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।