काठमाडौं- क्यानडा सरकारले आफ्नो जातीयवाद विरोधी रणनीतिको एक भागको रूपमा देशमा इस्लामोफोबियाविरुद्ध लड्न विशेष प्रतिनिधि नियुक्त गर्ने आफ्नो मनसाय घोषणा गरेको छ। प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतबार एक ट्वीट गर्दै उक्त मनासाय व्यक्त गरेका हुन्।
‘इस्लामोफोबिया अस्वीकार्य छ। हामीले यो घृणाको अन्त्य गर्न र मुस्लिम क्यानेडियनहरूका लागि हाम्रा समुदायहरूलाई सुरक्षित बनाउन आवश्यक छ। त्यसमा मद्दत गर्न हामी इस्लामोफोबियाविरुद्ध लड्न विशेष प्रतिनिधि नियुक्त गर्न चाहन्छौं,’ उनले लेखेका छन्।
देशले जनवरी २९ मा क्युबेक शहर मस्जिद आक्रमण र इस्लामोफोबियाविरुद्धको कार्यको सम्झनाको राष्ट्रिय दिवस मनाइरहँदा यो निर्णय आएको हो।
‘क्यानाडा सरकार क्यानाडाभरका मुस्लिम समुदायहरूको साथमा उभिएको छ र समर्थन गर्दछ। इस्लामोफोबिया तथा घृणित हिंसाको निन्दा र सामना गर्न कदम चाल्ने छ,’ सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विशेष प्रतिनिधि नियुक्ति भनेको जुलाई २०२१ मा भएको इस्लामोफोबिया सम्बन्धी भर्चुअल राष्ट्रिय शिखर सम्मेलनमा राखिएको सिफारिसहरू मध्ये एक हो। यो सबै प्रकारका इस्लामोफोबियालाई सम्बोधन गर्न क्यानाडाको नस्लवाद विरोधी रणनीतिमार्फत् सरकारको चलिरहेको काममा थप कदम हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।