काठमाडौं- मधेशी आयोगले तराई-मधेशका विभिन्न ठाउँमा जारी किसानहरुको आन्दोलनमा राज्यबाट बल प्रयोग भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगले आइतबार विज्ञप्ति जारी गरी शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नु मानवअधिकारको उल्लंघन भएको बताएको छ।
'विगत केही दिनदेखि तराई-मधेशका विभिन्न ठाउँमा किसानहरुको आन्दोलन चलिरहेको र सो आन्दोलनमा राज्यद्वारा बल प्रयोग गरिएकोसम्बन्धी आयोगमा उजुरीहरु प्राप्त भएको र सो उजुरीहरुमाथि आयोगको गम्भीर ध्यानकर्षण भएको छ। राज्यले संयमित भएर समाधानार्थ कार्य गर्नुपर्ने र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नु मानवअधिकारको उल्लंघन रहेको आयोगको ठहर छ,' आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आयोगले उक्त आन्दोलनबारे स्थलगत अनुगमनका लागि आयोगका सदस्यहरु जिवछ साह, रेणुदेवी साह र विजय गुप्तालाई जिम्मेवारी सुम्पिएको जनाएको छ। स्थलगत अनुगमनको प्रतिवेदन प्राप्त हुनासाथ आयोगले यथाशीघ्र बैठक बसी आवश्यक प्रक्रिया अगाडि बढाउने विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।