काठमाडौं- अर्थविद्हरुले मुलुकको अर्थतन्त्र थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न सरकारलाई सुझाव दिएका छन्। आइतबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा उनीहरुले यस्तो धारणा राखेका हुन्।
तथ्यांकका आधारमा मुलुकको अर्थतन्त्र धराशायी भइनसकेको भए पनि थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न उनीहरुले सुझाव दिए। विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन पनि उनीहरूको सुझाव रहेको थियो।
यस्तै कृषि उत्पादकत्व बढाउने, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधार गर्नेलगायतका सुझावसमेत विज्ञहरूले दिए।
छलफलमा अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीतिको अभावले विकासमा बाधा उत्पन्न भएको बताए। ‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको आज अभाव देखिरहेको छ,’ मन्त्री शर्माले भने, ‘यस्ता जटिलताले विकासमा बाधा उत्पन्न गरेका छन्।’
उनले संविधानबमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखापरेको बताएका छन्। सबै समस्याहरूको जड राजनीति भएको बताउँदै उनले राजनीतिक दलहरूमा सहमतिको आवश्यकता औँल्याए। राजनीतिक दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउनेबारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था रहेको उनको भनाइ थियो।
मन्त्री शर्माले विज्ञहरूको सुझावलाई सरकारले मार्गदर्शकको रूपमा लिने र छलफललाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शंकर शर्मा, प्राडा विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्वउपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको उपस्थिति थियो। त्यस्तै भारतका लागि नेपालका पूर्वराजदूत डा दुर्गेशमान सिंह, अर्थ विश्लेषक हरि रोका, डा रामकुमार फुयाललगायतको पनि उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।