नयाँ दिल्ली- भारतमा कोरोना भाइरसबाट थप दुई लाख ३४ लाखभन्दा बढी संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३४ हजार २८१ जना संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यससँगै भारतमा कोरोना संक्रमितको संख्या चार करोड १० लाख ९२ हजार ५२२ पुगेको जनाइएको छ।
सोही अवधिमा कोरोना संक्रमणका कारण भारतमा ८९३ जनाको मृत्यु भएको सो मन्त्रालयले आइतबार जनाएको छ। अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कूल चार लाख ९४ हजार ९१ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।
भारतमा पछिल्लो समय दैनिक संक्रमितहरुको संख्यामा निरन्तर कमी आइरहेको छ। केही दिन संक्रमित दैनिक बढ्दै गएकोमा अहिले घट्दै आएको जनाइएको छ। मन्त्रालयका अनुसार भारतमा अहिले संक्रमित अवस्थामा रहेकाहरुको संख्या पनि घट्दै गइरहेको छ। सरकारी अधिकारीहरुका अनुसार भारतमा शनिबार १८ लाख ८४ हजार ३३३ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितको यो संख्या कूल संक्रमितको ४.५९ प्रतिशत भएको जनाइएको छ।
दैनिक नयाँ संक्रमितहरुको संख्याभन्दा दैनिक संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले पनि अहिले सक्रिय संक्रमितहरुको संख्या घट्दै गएको हो। भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५२ हजार ७८४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या एक लाखभन्दा बढी रहेको छ।
भारतमा पछिल्लो एक दिनमा १६ लाख १५ हजार ९९३ जनाको कोरोना परीक्षण गरिएको थियो। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म भारतमा एक अर्ब ६५ करोड ७० लाखभन्दा बढी डोज खोप लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।