काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्नो देशको सीमामा रुसी सेनाको उपस्थितिकाबीच आतंक सिर्जना नगर्न पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन्।
निकट भविष्यमा आक्रमण हुने चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको उनले सञ्चारकर्मीहरूलाई बताए। बिहिबार मात्रै अमेरिकी राष्ट्रपति जो वाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।
यता, अमेरिकी सैन्य प्रमुख मार्क मिलीले युक्रेनमाथि रुसी हमला भीषण हुन सक्नेभन्दै त्यसबाट ठूलै संख्यामा हताहती हुन सक्ने बताएका छन्।
मिलीले भने, ‘यदि आक्रमण भयो भने त्यो असाध्यै ठूलो हुनेछ र त्यसबाट ठूलो संख्यामा मानिसको ज्यान जानेछ। घना शहरी क्षेत्रमा हुने लडाइँ भीषण र डरलाग्दो हुनेछ।’ तर,रुसले भने आक्रमणको योजना अस्वीकार गर्दै आएको छ। शुक्रबार रुसी विदेश मन्त्रीले मस्कोले युद्ध नचाहेको बताएका थिए।
रुसले युक्रेनसँगको सीमा नजिकै एक लाख सेना तैनाथ गरेको छ। जेलेन्स्कीले गत वर्षको रुसी सैन्य उपस्थितिको तुलनामा अहिले बढी खतरा नदेखेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।