काठमाडौं- अफ्रिकी राष्ट्र मरिससविरूद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको दोस्रो हाफमा नेपालले १-० गोलको अग्रता लिएको हो। नेपालका लागि विमल घर्तीमगरले गोल गरे।
उनले खेलको ५५औं मिनेटमा गोल गरेका हुन्। त्यसअघि प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले मरिससविरूद्ध पहिलो रोजाइका खेलाडीलाई मैदान उतारे पनि पहिलो हाफमा नेपाली टोली मैदानको मध्य भागमै रूम्लिएको थियो। यस्तै, मरिससको टोलीले पनि नेपाली पोस्टमा लोभलाग्दा प्रहार गर्न सकेन।
खेलको तेस्रो मिनेटमै नेपालले अग्रता लिने मौका पाएको थियो। तर, सुनिल बलले करिब २० यार्डबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन। उनको प्रहार फ्रेममाथिबाट बाहिरिएको थियो।
यस्तै १३औं मिनेटमा सुमान लामाले अर्को मौका खेर फाले। डिबक्स बाहिरबाट गरेको प्रहार आकासिएको थियो।
यस्तै पहिलो हाफको अतिरिक्त समयमा अन्जन विष्टले 'वान भर्सेज वान'मा गोल गर्ने मौका गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।