काठमाडौं- नेपाल र अफ्रिकी राष्ट्र मरिससबीच मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेनन्।
प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले मरिससविरूद्ध पहिलो रोजाइका खेलाडीलाई मैदान उतारे पनि पहिलो हाफमा नेपाली टोली मैदानको मध्य भागमै रूमलिएको थियो। यस्तै, मरिससको टोलीले पनि नेपाली पोस्टमा लोभलाग्दा प्रहार गर्न सकेन।
खेलको तेस्रो मिनेटमै नेपालले अग्रता लिने मौका पाएको थियो। तर, सुनिल बलले करिब २० यार्डबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन। उनको प्रहार फ्रेममाथिबाट बाहिरिएको थियो।
यस्तै १३औं मिनेटमा सुमन लामाले अर्को मौका खेर फाले। डिबक्स बाहिरबाट गरेको प्रहार आकासिएको थियो।
यस्तै पहिलो हाफको अतिरिक्त समयमा अन्जन विष्टले 'वान भर्सेज वान'मा गोल गर्ने मौका गुमाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।