काठमाडौं- बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने ४९ वर्षीय कमलकुमार सिंह छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीका अनुसार सिंहले विभिन्न ब्यक्तिहरुलाई प्रलोभनमा पारी, अनेक बरबहाना बनाएर साझेदारीमा जग्गा तथा जमिन खरिद गर्ने, ब्यापार ब्यवसाय सञ्चालन गर्ने भनेर झुक्याएर एकजनाबाट ६० लाख फिर्ता गर्ने क्रममा चेक जारी गरेका थिए।
उक्त चेक बाउन्स भएपश्चात पीडितले बैंकिङ कसूर मुद्दामा प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरेका थिए। अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसरको विशेष टोलीबाट खोजतलास गर्दा फरार रहेका सिंहलाई बिहिबार काठमाडौं महानगरपालिका–३२ काँडाघारीबाट नियन्त्रणमा लिइएको प्रवक्ता मैनालीले जनाकारी दिए।
उच्च अदालत पाटन, ललितपुरबाट ७ दिनको म्याद थप गरेर सिंहमाथि अनुसन्धान भइरहेको छ। साथै, सिंहले अर्को एक ब्यक्तिलाई समेत यस्तै प्रकारले दिएको ६१ लाखको चेक बाउन्स भएर उच्च अदालत पाटन, ललितपुरले गत महिना पुस १५ गतेको आदेशले १५ लाख धरौटी माग गरेको थियो।
उक्त धरौटी तत्काल बुझाउन नसकेपछि सिंहलाई डिल्लीबजार कारागार चलान गरिएको प्रवक्ता मैनालीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।